Aamsanchar

माओवादी केन्द्रले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने

Author Image
शुक्रवार, भदौ १४, २०८१

विराटनगर – नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई दिएको समर्थन फिर्ता लिने भएको छ। नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धन बनेपछि साउन ११ गते सरकारबाट बाहिरिएको माओवादी केन्द्रले समर्थन भने फिर्ता लिएको थिएन।

असार ८ गते बजेट पारित भएपछि स्थगित भएको प्रदेशसभाको बैठक आज बस्दै छ। बैठक बस्नुअघि नै माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको हो।

आजै सरकारलाई दिएको समर्थन फिर्ता लिँदै छौं’ माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए। उनले भने, ‘संसदीय दलको बैठक बसेर त्यसको औपचारिक निर्णय गर्दैछौं।’

गत वैशाख २७ गते संविधानको धारा १६८ को उपधार ५ बमोजिम माओवादी केन्द्रका १३ तथा नेकपा एमालेका ३९ सांसदको समर्थनमा एमाले संसदीय दलका नेता कार्की मुख्यमन्त्री भएका थिए। जेठ १ गते उनले प्रदेशसभाबाट विश्वसको मत लिएका थिए। उनलाई काँग्रेस र राप्रपाबाहेकका दलहरुले विश्वासको मत दिएका थिए।

असार १७ गते नेपाली कांग्रेस र एमालेबीच सत्तासमीकरण बनेपछि माओवादी सरकारबाट बाहिरिएका थिए।

यता काँग्रेसको आन्तरिक किचलोको कारण अझै सरकारमा सहभागी भएको छैन। काँग्रेस र एमालेबीच मुख्यमन्त्रीसहित ५ मन्त्रालय एमालेले र ४ मन्त्रालय काँग्रेसले लिने सहमति भइसकेको छ।

मन्त्री पठाउन नसकेको काँग्रेसले आजको बैठकमा सत्तापक्षमा बस्ने जानकारी प्रदेशसभा सचिवालयलाई दिएको छ।

गठबन्धन बनेको लामो समयसम्म मन्त्रीको नाम दिन नसक्नु अनि प्रतिपक्षीको हैसियतमा सेवा सुविधा लिएर सत्तापक्षको कुर्सीमा बस्नु अनैतिक हुने भन्दै नेपाली काँग्रेस भित्र नै विवाद उत्पन्न भएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 78

प्रतिक्रिया (०)

सम्बन्धित खबर