Aamsanchar

दाङका डिल्लीबहादुर कुरिलो खेतीबाट राम्रो आम्दानी गर्दै

Author Image
शनिवार, भदौ १५, २०८१

दाङ – कुरिलो खेतीबाट राम्रो आम्दानी दाङको तुलसीपुर उपमहानगरपालिका ६ गोलौराका ६० वर्षीय डिल्लीबहादुर केसीले कुरिलोको व्यावसायिक खेतीबाट राम्रो आम्दानी गर्दै आएका छन्। ६ वर्ष अगाडि आफ्नै तिन कठ्ठा जग्गाबाट कुरिलोको खेती शुरु गरेका उनले २ वर्षदेखि जग्गा भाडामा लिएर व्यावसायिक रुपमा शुरु गरेका हुन्।

उनले तुलसीपुर ६ मै एक बिगाहा ७ कठ्ठा जग्गा भाडामा लिएर व्यवसायिक रुपमा कुरिलो खेती गर्दै आएको बताए। उनले भने, ‘पहिला घरमा कुरिलोको केही बोटहरू लगाएको थिएँ। जब कोरोना महामारी आयो। यसको चर्चा परिचर्चा धेरै सुन्नमा आयो। यो औषधिजन्य तरकारी, भिटामिन युक्त र बिरामीहरूलाई फाइदा हुन्छ, भन्ने सुनेपछि विस्तारै यो खेतीतिर लागे, अहिले व्यवसायिक रुपमा गर्दै आएको छु।’

उनका अनुसार अन्य तरकारीको भन्दा यसले बजारमा राम्रो मूल्य पाउँछ। यसलाई अरु तरकारीमा जस्तो विषादी प्रयोग गर्न पर्दैन, यो अर्गानिक नै हुने समेत बताए। उनले अमेरिकन ‘जर्सी सुपुर’ भेराइटीको कुरिलोको व्यवसायिक खेती गर्दै बताए। अमेरिकामा रहेको आफन्तबाट यसको बिउ ल्याएर खेती शुरु गरेको समेत बताए। यो जातको कुरिलो अन्यभन्दा टुसा ठुलो हुने हुँदा उपभोक्ताले पनि मन पराउने उनको भनाइ छ। यस्तै, उनले खेती गर्दा अन्य तरकारी खेती जस्तो खर्च पनि कम हुनेसमेत बताए।

उनले आफू करिब ४७ वर्षसम्म सरकारी जागिर गरेर त्यसबाट अवकाश लिएपछि कृषि पेशातिर लागेको समेत बताए। उनले आफूले पोल्ट्री फर्म पनि गर्दै आइरहेको भन्दै त्यो भन्दा कुरिलो खेती सहज भएको बताए। उनले भने, ‘पोल्ट्री फर्म पनि गर्दे आएको छु। त्यसमा अलि जोखिम हुन्छ। कति बेला नाफा हुन्छ, कतिबेला घाटा हुँदैन। तर, कुरिलो खेतीमा कुनै जोखिम हुँदैन। सिँचाइ भएको ठाउँमा यो खेती गर्न सकिन्छ। यसमा प्राङ्गारिक मल हाले पुग्छ।’

यस्तै, उनले जिल्लामा व्यावसायिक कुरिलो खेती नभएको अवस्थामा आफूले व्यवसायिक रुपमा खेती गर्दा बजार पाउन सक्ने हुँदा राम्रो सम्भावना देखेर गरेको समेत बताए। अहिले बजारमा ३ देखि साढे ३ रुपैयाँ केजीसम्म दैनिक ३ देखि ६ हजार सम्मको कुरिलो बेच्दै आएको समेत उनले बताए। प्रति कठ्ठा वार्षिक २ हजारको दरले जग्गा भाडामा लिएर खेती गरेको उनको भनाइ छ। उनीसँग २ ठाउँमा गरी ११ हजार कुरिलोको बोटहरू रहेका छन्। अहिले दैनिक १५ देखि २५ केजीसम्म कुरिलो बिक्री गर्ने गरेको उनले बताए।

उनका अनुसार लगाएको सबै ठाउँमा कुरिलोको टुसा पलाउन थालेपछि दैनिक करिब ५० किलो उत्पादन हुने अनुमान रहेको छ। जिल्लामा आफूले नै अहिलेसम्म ठूलो क्षेत्रमा व्यावसायिक कुरिलो खेती गरेको उनले बताए। उनका अनुसार कुरिलो लगाएको ३ वर्षपछि मात्र बिक्री गर्न मिल्ने भन्दै अवस्था हेरेर २ वर्षमा पनि उत्पादन भएको टुसा बिक्री गर्न मिल्ने बताए।

यस्तै उनले अहिले उत्पादन भएको कुरिलो तुलसीपुर र घोराही बजारमा खपत भइरहेको समेत बताए।

उनले व्यवसायिक रुपमा कुरिलो खेती गर्दा सिँचाइ पोखरी, जग्गा तारबारलगायत गर्दा ९ लाख बढी खर्च भएको समेत बताए। यस्तै उनले कुरिलोले धेरै सिँचाइ र मल खोज्ने गरेको पनि बताए। उनले भने, ‘गर्मी समयमा दैनिक सिँचाइ गर्नुपर्छ। एक दिन सिँचाइ नगर्दा टुसा आउँदैन। यसले जराबाट टुसा निकाल्ने भएकाले मल पनि धेरै चाहिन्छ। तर, मलमा गोबर मल भए धेरै राम्रो हुन्छ। त्यो मल लामो समय टिक्ने हुन्छ। अहिलेसम्म मैले गोबर मल नै प्रयोग गरेको छु।’

उनका अनुसार एकपटक लगाएको कुरिलोको बोटले १२ देखि १५ वर्षसम्म काम गर्दछ। तर, सिँचाइ र मल हुनुपर्ने हुन्छ। कुरिलोले चैतदेखि कात्तिकसम्म उत्पादन हुनेसमेत उनको भनाइ छ। कात्तिकदेखि माघसम्म सबै बोटहरू हराउने र चैत देखि पलाउन शुरु हुने समेत उनले बताए। कुरिलो खेती आर्थिक, स्वास्थ्य सबै कुरालाई फाइदा हुने समेत उनको भनाइ छ। टिपेको ४र५ दिनसम्म ओसिलो ठाउँमा राख्दा केही नहुने समेत उनले बताए।

जिल्लामा अहिले २ बिगाहा जमिनमा कुरिलो खेती

पछिल्लो समय कुरिलोको महत्व बुझ्दै गएपछि स्थानीय किसानहरुले कुरिलो खेती गर्न थालेको कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी पृथ्वीराज लामिछानेले बताए। अहिले जिल्लामा २ बिगाहा जमिनमा कुरिलो खेती भइरहेको उनको भनाइ छ। किसानहरु प्रतिकठ्ठा वार्षिक एक लाख आम्दानी गर्ने गरेको उनको भनाइ छ।

विगतका वर्षहरुमा जिल्लामा किसानहरुले आफूहरुले खानको लागि खेती गरेको भएयता पनि व्यवसायिक रुपमा अहिले विस्तारै खेती हुन थालेको उनले बताए। यस्तै कार्यालयले कुरिलो खेती बिस्तारको लागि कुनै कार्यक्रम नगरेको भएयता पनि किसानहरुको माग अनुसार सम्बोधन गरेर कार्यक्रम प्रस्तावित गरेको समेत बताए।

उनका अनुसार त्यो कार्यक्रम आएपछि किसानहरुलाई सम्बोधन गर्न सकिन्छ। अहिले कुरिलो खेती गरेका किसानहरु अनुदान तथा बजारिकरणको लागि कार्यालयमा नआएको भएयता पनि कार्यालयले भने तथ्यांक संकलन गरेको उनले बताए।

उनका अनुसार कुरिलोको बजार राम्रो रहेको छ। जिल्लामा माग अनुसारको उत्पादन हुन सकेको समेत उनले बताए। राम्रोसँग उत्पादन गर्न सकेमा यसको बजारिकरणमा समस्या नहुनेसमेत उनले बताए। यसमा विषादीहरु पनि प्रयोग हुँदैन, भने स्वास्थ्यको लागि पनि फाइदा जनक नै कुरिलो रहेको समेत उनले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 47

प्रतिक्रिया (०)

सम्बन्धित खबर