Aamsanchar

इलाका प्रहरी कार्यालय धरानको परिसरमा नवनिर्मित हिरासत भवनको उद्घाटन

Author Image
आइतवार, भदौ १६, २०८१

धरान- कोशी प्रदेशको मुख्यमन्त्री हिक्मत कार्कीले इलाका प्रहरी कार्यालय धरानको परिसरमा नवनिर्मित हिरासत भवनको उद्घाटन गर्नुभएको छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र रहेको इलाका प्रहरी कार्यालय धरानमा हिरासत भवन निर्माण भई उद्घाटन तथा हस्तान्तरण गरेकोमा धरानले एउटा इतिहास रचेको मुख्यमन्त्री कार्कीले बताउनुभयो । “धरान इतिहास रच्ने नै शहर हो” उहाँले भन्नुभयो ।

इलाका प्रहरी कार्यालयमा हिरासत भवन निर्माण समिति धरानको अथक प्रयास र मेहनतबाट यो भवन निर्माण भएको अवसरमा स्मारिका समेत प्रकाशन गरेकोमा खुसी बनाएको बताउनुभयो ।

धरान आफैंमा सुन्दर सहर हो । यहाँको भाषा, संस्कृति, पर्यटन, स्वास्थ्य र शिक्षा आफैंमा नमुना छन् । यहाँका नागरिकको विकासमा साझेदारी गर्ने मोडल देशमै प्रशंसनीय रहेको मुख्यमन्त्री कार्कीले बताउनुभयो । धरानमा शान्ति सुरक्षा कायम गर्नका लागि थुनुवा कक्ष अत्यन्त साँघुरो र कष्टकर भएर समस्या भइरहेको परिप्रेक्ष्यमा नागरिकसँगको हातेमालोमा हिरासत भवन निर्माण हुनुले पनि धरानका जनताको विकासप्रतिको साझेदारीलाई दर्साउने उहाँले बताउनुभयो ।

२०७५ सालमा कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री हुँदा मुख्यमन्त्री कार्कीले नै शिलान्यास गर्नुभएको थियो । जनस्तरबाट निर्माण आरम्भ गरी सङ्घीय, प्रदेश सरकार, धरान उपमहानगरपालिका। तथा देश विदेशमा रहनुभएका विभिन्न सङघ संस्था र दाताहरुको सहयोगमा निर्माण भएको हिरासत भवन निर्माण समितिको अध्यक्ष मीनकुमार सुब्बाले बताउनुभयो ।

हिरासतमा बसेको व्यक्तिको परिवार र उसको समाजले सकारात्मक दृष्टिकोणले हेर्छन् अनि आफ्नै परिवार भन्नाले बसेको हिरासतको व्यवस्थापन देखेर उनीहरुको प्रहरीलाई हेर्न दृष्टिकोणमा नै परिवर्तन आउने उहाँले बताउनुभयो ।

सैद्धान्तिक दृष्टिकोणबाट हेर्दा प्रहरी व्यावहारिक छैन, अथवा प्रहरीले सधैं सैद्धान्तिक कुरा मात्र गर्छ । व्यवहारमा कहिल्यै आउँदैन भन्ने नकारात्मक सोचमा परिवर्तन भइ सकारात्मक सूचना प्रवाह हुने अध्यक्ष सुब्बाले बताउनुभयो ।

नयाँ हिरासत भवन २ तलाको छ । जसमा ८ वटा कोठा छन् । सहयोगी दाताहरुबाट २ करोड ९ लाख २९ हजार १२ रुपियाँ ६९ पैसा उठेकोमा जम्मा लागत २ करोड ९ लाख २६ हजार १२ रुपियाँ ६९ पैसा लागेको हिरासत निर्माण समितिको कोषाध्यक्ष सविता राईले बताउनुभयो ।

हिरासत भवनको उदघाटन कार्यक्रममा इलाका प्रहरी कार्यालय धरानको प्रहरी नायब उपरीक्षक प्रकाश जबेगु, धरान उपमहानगरपालिकाको उपप्रमुख आइन्द्रबिक्रम बेघा, कोशी प्रदेशको सभा सदस्य विजयकुमार राई, रमेशकुमार कार्की, यशोदा कायास्था, कोशी प्रदेशको प्रहरी वरिष्ठ उपरीक्षक भिम दाहाललगायत विभिन्न राजनीतिक दलका प्रतिधिहरु, हिरासत भवन समितिका सदस्यहरुको उपस्थिति थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 30

प्रतिक्रिया (०)

सम्बन्धित खबर