Aamsanchar

चिलिमे जलविद्युत् कम्पनीको २१३ मेगावाट बिजुली खेर

Author Image
सोमवार, भदौ १७, २०८१

काठमाडौं – नेपालमा प्रसारण लाइन निर्माण गति हेर्ने हो भने हेटौडा–ढल्केवर–इनरुवा प्रसारण लाइन हेर्दा हुन्छ । २८८ किलोमिटर लम्बाइ रहेको आयोजनाको निर्माण सुरु १२ वर्ष भइसक्यो, अझै सकिएको छैन ।

हेटौडा–ढल्केवर र ढल्केवर–इनरुवा गरी दुई भागमा विभाजन गरिएको आयोजना ढल्केबर–इनरुवातर्फको भाग सकिए पनि हेटौंडा–ढल्केबरतर्फ अझै सकिएको छैन ।

ढल्केवर–इनरुवा १५४ किलोमिटर प्रसारण लाइन अघिल्लो महिना सकिएको थियो । हेटौंडा– ढल्केवर खण्डको १३४ किलोमिटरमा स्थानीयको अवरोधले अनिश्चित रहेको आयोजना प्रमुख श्याम यादव बताउँछन् ।

प्रसारण लाइन निर्माणकर्ता नेपाल विद्युत् प्राधिकरण वनको समस्या, मुआब्जा समस्या, ठेकेदारले समयमै काम नगुर्नले प्रसारण लाइन निर्माणमा धेरै समय लाग्ने गरेको बताउँदै आएको छ । यस्तैमा प्रसारण लाइन समयमै नबन्दा दुई आयोजनाको बिजुली खेर गएको छ ।

प्रसारण लाइन निर्माण नभएका दुईवटा आयोजनाका २१३ मेगावाट बिजुली खेर गएको हो । प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् आयोजनाले निर्माण गरेको दुई आयोजनाको २१३ मेगावाट बिजुली प्रसारण लाइन अभावका कारण उत्पादन गर्न सकेको छैन ।

चिलिमे जलविद्युत् कम्पनीको अगुवाईमा निर्माण भएको १०२ मेगावाट क्षमताको मध्य भोटेकोसी तथा रसुवागढी जलविद्युत् आयोजनाको १११ मेगावाट गरी कुल २१३ मेगावाट बिजुली खेर गएको हो ।

दुवै आयोजना बिजुली उत्पादन गर्न सक्छन् तर, प्रसारण लाइन नभएपछि आयोजना त्यसै राख्नु परेको छ ।

रसुवागढी आयोजनाको सम्पूर्ण काम सकिएर उत्पादनको लागि तयार अवस्था रहेको रसुवागढी आयोजनाका प्रमुख छविलाल गरै बताउँछन् । आयोजना स्थलबाट १० किलोमिटर प्रसारण लाइन समेत निर्माण गरी राष्ट्रिय प्रसारणमा पठाउन तयारी अवस्थामा रहेको तर, चिलिमे–त्रिशुली प्रसारण लाइन नबनेका कारण समस्या भएको बताउँछन् ।

“आयोजनाको सम्पूर्ण काम सकिएर विद्युत् प्रसारण गर्ने तयारीमा छौं । प्रसारण लाइन तयार भएपछि परीक्षण उत्पादन सुरू गछौं ,” उनले भने, “चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न भएपछि उत्पादन सुरू हुन्छ ।”

नदी प्रवाही आयोजना रहेको जलविद्युत् क्षेत्रमा वर्षायाम नै मुख्य उत्पादन हुने गर्छ । तर, ठूला आयोजनाको प्रसारण लाइन नै तयार नभएपछि आयोजनाले बिजुली उत्पादन गर्न पाएको छैन ।

रसुवागढी र मध्य भोटेकोसीले आयोजनाले २०६८ मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए)गरेका थिए । पीपीए भएको दुई वर्षपछि निर्माण गएका आयोजना ११ वर्षमा सकिएपनि प्रसारण लाइन नै नबनेका कारण बिजुली खेर गएको हो ।

चिलिमेका दुई आयोजनाको प्रसारण लाइन निर्माण नहुँदा उत्पादन खेर गएको चिलिमे जलविद्युत् कम्पनी प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुवासकुमार मिश्रले बताए ।

“भोटेकोसीमा मर्मतको काम हुँदै गरेको छ । रसुवागढीतर्फ भने सबै काम सकिएर प्रसारण सकिने मिति कुदै बसेका छौं,” उनले भने ।

रसुवागढीको प्रसारण लाइनतर्फ तीनवटा टावर बन्न बाँकी छ भने मध्य भोटेकोसी प्रसारण लाइनमा दुई किलोमिटर प्रसारण लाइन निर्माण गर्न बाँकी छ ।

मध्य भोटेकोसीको आयोजनाको प्रसारण लाइन अन्र्तगत बाह्रबिसे नगरपालिका–५ स्थिति आयोजनाको विद्युतगृहको स्वीचयार्डबाट सोही नगरपालिका–३स्थित प्राधिकरणको बाह्रबिसे सबस्टेसन जोड्ने करिब चार किलोमिटर प्रसारण लाइनमध्ये दुई किलोमिटर लाइन निर्माणमा १४ महिनादेखि स्थानीयले अवरोध गदै आएका छन् ।

बाह्रबिसे नगरपालिका–३ र ४ स्थित पलाँती क्षेत्रमा प्रसारण लाइन निर्माण गर्न सामाजिक उत्तरदायित्व ९सिएसआर० अन्र्तगत १० करोड माग गरेपछि १४ महिना अवरोध भएको प्रसारण लाइनमा गत साता सहमति भएको छ ।

निर्माण सम्पन्न भइसकेको मध्यभोटेकोशी जलविद्युत आयोजनाको विद्युतको प्रसारण लाइन निर्माणमा जारी अवरोध खुलेको र छिट्टै सम्पन्न हुने ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री खड्का बताउँछन् ।

आयोजनाको प्रभावित क्षेत्रअन्तर्गत बाह्रबिसे–३ र ४ वडालाई पनि समावेश गराई अन्य प्रभावित क्षेत्रलाई जस्तै विकास निर्माणका लागि सहायता उपलब्ध गराउने, प्रसारण लाइनको मार्गधिकार पर्ने जग्गा तथा संरचनाको उचित क्षतिपूर्ति उपलब्ध गराउने र प्रसारण लाइनको बाँकी रहेको निर्माण तत्काल सुरु गर्ने सहमति भएको खड्काले बताए ।

सहमति पश्चात अबको एक महिनामा आयोजनाको प्रसारण लाइन निर्माण सम्पन्न हुने खड्काले बताए ।

यस्तै आयोजना पूर्ण रुपमा बनेर तयार रहेको १११ मेगावाटको रसुवागढी आयोजनामा २८ किलोमिटर प्रसारण लाइन निर्माण गर्नुपर्छ । निर्माण हुनुपर्ने ७९ टावरमध्ये अझै तीन वटा टावर निर्माण नहुँदा १११ मेगावाट खेर गएको हो ।

चिलिमे –त्रिशूली थ्री बी हब प्रसारण लाइन अन्तर्गत चिलिमे–मैलुङ खण्ड २० किलोमिटर डबल सर्किट र मैलुङ–त्रिशूली थ्री बी हबसम्म ८ किलोमिटर चार (मल्टी) सर्किट प्रसारण लाइन निर्माणाधीन छ ।

आयोजना सकिने बेलासम्म पनि प्रसारण लाइन निर्माण नसकिएपछि प्राधिकरण आफैंले आयोजनाको निर्माण द्रुत गतिमा गरिरहेको चिलिमे –त्रिशूली २२० केभी प्रसारण लाइन आयोजना प्रमुख थर्कबहादुर थापा बताउँछन् ।

“आयोजनाको ठेक्का पाएको चिनियाँ कम्पनीले समयमै काम नगरेपछि पाँच महिनादेखि प्राधिकरण आफैं नेतृत्व लिएर काम अघि बढाइरहेको छ । प्रसारण लाइन आयोजनाको स्ट्रिमिङ र तीन वटा टावरको काम अघि बढिरहेको छ । अबको दुई÷तीन हप्तामा सकिन्छ,” उनले भने, “सुरूमा वनले रूख कटानको स्वीकृति नदिएको कारण पनि ढिलाइ भएको हो ।”

हाल द्रुत गतिमा काम भइरहेको र जतिसक्दो चाँडो सक्ने थापाको भनाइ छ ।

दुवै आयोजना भुकम्प, नाकाबन्दी, कोरोना लगायतको समस्याले उत्पादन मिति लम्बाउँदै आएका थिए । भोटेकोसीको गत माघमा गरेको ‘वेट टेस्ट’ गर्दा सुरुङ लगायतका संरचना आएर मर्मत गरिएको थियो । रसुवागढी आयोजना गत पुस १५ देखि सुरु गरेको ‘वेट टेस्ट’ सफल भएपछि परीक्षण उत्पादनको लागि तयारी अवस्थामा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 14

प्रतिक्रिया (०)

सम्बन्धित खबर