Aamsanchar

अन्टार्क्टिका पुग्ने पहिलो नेपाली भुवनसिंह विश्वकर्मालाई सम्मान

Author Image
बुधवार, भदौ १९, २०८१

बागलुङ – अन्टार्क्टिका पुग्ने पहिलो नेपाली भुवनसिंह विश्वकर्मालाई गृह जिल्ला बागलुङमा सम्मान गरिएको छ।

अन्टार्क्टिकामा पहिलो पटक पाइला टेक्ने नेपाली विश्वकर्मालाई बागलुङ नगरपालिकाले रु.२५ हजारसहित प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो। रु.नौ करोड लागतमा निर्माण गरिएको आधुनिक बागलुङ बसपार्क उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेद्वारा विश्वकर्मालाई सम्मान गरिएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए।

बागलुङ-१४ नारायणस्थानमा जन्मिएका विश्वकर्मा सन् १९८६ मा पृथ्वीको दक्षिणी ध्रुव अन्टार्क्टिका महादेशमा पुग्ने पहिलो नेपाली हुन्। उनी भारतीय सेनामा कार्यरत हुँदा भारतीय सेनाको अनुसन्धान टोलीका साथ प्राविधिकको रूपमा त्यहाँ पुगेका थिए। प्रसिद्ध प्रबल गोर्खा दक्षिण बाहु दोस्रोबाट सम्मानित र गिनिजबुकमा नाम लेखाउन सफल विश्वकर्माले बागलुङ नगरपालिकाको नाम चिनाएको नगरपालिकाले जनाएको छ।

‘बागलुङमा जन्मेर अन्टार्क्टिकामा पुग्ने पहिलो नेपालीका रूपमा देशभर परिचय बनाइसक्दा उहाँको गृह नगरपालिकाले सम्मान गर्न आवश्यक थियो’, नगरप्रमुख श्रेष्ठले भने, ‘बागलुङ जिल्लाको नाम चिनाउन उहाँको महत्त्वपूर्ण योगदान छ।’

विश्वकर्मा हाल बुटवल उपमहानगरपालिका-११ मा बस्छन्। उनको नाममा बुटवल उपहानगरले ‘भुवनसिंह मार्ग’ भनेर सडकको नामकरण गरेको छ। सम्मान ग्रहणपछि विश्वकर्माले गृह पालिकाले सम्मान गर्दा धेरै उत्साहित भएको बताए।

उनले गृहनगरले सम्झेर गरेको सम्मानप्रति आफू सदैव कृतज्ञ रहने उल्लेख गरे।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 9

प्रतिक्रिया (०)

सम्बन्धित खबर