Aamsanchar

बढ्याे अलैँचीको मूल्य, कृषक उत्साहित

Author Image
बिहिवार, भदौ २०, २०८१

हिले- अलैँचीको मूल्य बढेपछि धनकुटाका अलैँची कृषक उत्साहित भएका छन् । अहिले अलैँचीको मूल्य प्रतिमन ८४ हजार छ ।

अलैँचीको नयाँ उत्पादन सुरु भए पनि मूल्य राम्रो पाउँदा आफूहरू खुसी भएको कृषकको भनाइ छ । अघिल्ला वर्षहरूमा कृषकको उत्पादन सकिएसँगै मूल्य बढ्ने र कृषकको उत्पादन हुन थालेपछि मूल्य घट्ने गरेपनि यो वर्ष भने नयाँ अलैँची उत्पादन हुँदा समेत मूल्य नघटेकोले आफूहरू उत्साहित रहेको पाख्रिवास नगरपालिका २ का अलैँची कृषक निर्मल स्याङदेन बताउनुहुन्छ । “केही वर्ष यता कृषकले आफ्नो लगानी समेत उठाउन सकेको थिएनौ तर यो वर्ष राम्रो मूल्य पाएको छौँ” स्याङदेन भन्नुहुन्छ ।

गत वर्षबाट उकालो लाग्न थालेको अलैँचीको मूल्यले यो वर्ष पनि निरन्तरता पाउँदा आफूहरू खुसी भएको सान्नेका अर्का कृषक बल बहादुर अधिकारी बताउनुहुन्छ ।

२०७१ सालमा एक लाख २० हजार प्रतिमन पुगेको अलैँची त्यसयता भने निरन्तर ओरालो लाग्दै आएको थियो । २०७४ सालमा ६० हजार वाट ओरालो लागेको मूल्य गत पुस सम्म प्रतिमन २५ हजार रुपियाँले कारोबार भएको अलैँची त्यसयता भने अलिअलि बढ्दै गएको हिलेका अलैँची व्यापारी श्याम शाह बताउनुहुन्छ ।

गत वर्ष करिब ६० हजार रुपियाँ प्रतिमनसम्म पुगेको उहाँको भनाइ छ । उत्पादन कम र ठुला व्यापारीहरूले अलैँची खरिद गरेर स्टक गर्न थालेपछि मूल्य बढेको शाहको तर्क छ । उत्पादनमा कमी हुने आङ्कलनकै कारण मूल्य बढेको हुन सक्ने अनुमान कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ । अलैँचीको बजार भारतमा भर पर्ने भएकाले भारतमा उत्पादन घटे मात्र नेपालको अलैँचीले भाउ पाउने केन्द्रका प्रमुख नगेन्द्र राना बताउनुहुन्छ ।

धनकुटामा करिब ४ दशक यता अलैँचीको खेती हुँदै आएको छ । जिल्लामा करिब ११२ हेक्टर क्षेत्रफलबाट ३६ मेट्रिकटन अलैँची उत्पादन हुने गरेको छ । धनकुटामा आर्थिक वर्ष २०७४.७५४ सबै भन्दा धेरै क्षेत्रफलमा खेती र अलैँचीको उत्पादन भएको थियो ।

कृषि ज्ञान केन्द्र धनकुटाले दिएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४.७५ मा २३० हेक्टर क्षेत्रफलबाट १३४ मेट्रिकटन अलैँची उत्पादन भएको थियो । त्यस यता भने विभिन्न रोग किरोको प्रकोपको कारण अलैँचीको उत्पादन निरन्तर ओरालो लाग्दो छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 64

प्रतिक्रिया (०)

सम्बन्धित खबर