Aamsanchar

पलेशालाई प्रचण्डले बुद्धको मूर्ति उपहार दिए

Author Image
शुक्रवार, भदौ २१, २०८१

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पारा ओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गरेका छन्।

खुलमटारमा एक कार्यक्रम आयोजना गरी उनले नेपालका लागि ओलम्पिकमा पहिलो पदक प्राप्त गर्न सफल प्रलेशालाई सम्मान गरे। उनले पलेशासँगै कोच कविराज नेगी लामा, व्यवस्थापक रामचन्द्र श्रेष्ठ र पलेशाका बुवा प्रदीप गोबर्धनलाई पनि सम्मान गरे। उनले भगवान बुद्धको मुर्ति उपहार दिए।

सो क्रममा अध्यक्ष प्रचण्डले नेपालबाट इतिहास रच्ने पलेशालाई बधाई दिंदै यो जीतले संसारभरि रहेका नेपालीहरुले गौरव गर्ने अवसर प्राप्त भएको बताउए। ‘ओलम्पिकको इतिहासमा पहिलोपटक नेपालले मेडल प्राप्त गर्ने भनेको सामान्य विषय होइन, यसले विश्वभरि रहेका नेपालीका लागि गौरव गर्ने अवसर प्राप्त भएको छ’– उनले भने– ‘खेल क्षेत्रले राष्ट्रिय एकता, आर्थिक समृद्धि र अन्तर्राष्ट्रिय कूटनीतिलाई प्रबर्धन गर्छ, त्यसैले पलेशाको यो जीत अन्तर्राष्ट्रिय इतिहास कायम गर्ने महत्वपूर्ण जीत हो।’

खेलको राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा बहुआयामिक महत्व भएकाले खेल क्षेत्रमा राज्यले बढी लगानी गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने– ‘अहिले समय फेरिएको छ, खेलले अन्तर्राष्ट्रिय युद्ध रोक्नेदेखि ठूलाठूला समस्याको समाधान पनि दिएको छ। अहिले पलेशाले मेडल जितेपछि राष्ट्र एक ढिक्का भएको छ, सबले गर्व गरेका छन्, सब खुशी भएका छन्।’

पलेशाको जीत राष्ट्रिय एकताको आधार र अन्तर्राष्ट्रिय कूटनीति प्रवर्धनमा ऐतिहासिक बन्न पुगेको उल्लेख गर्दै उनेले आगामी ओलम्पिकमा पनि थप सफलताका लागि शुभकामना व्यक्त गरे।

सो क्रममा पदक विजेता पलेशाले पदक प्राप्त गर्दाको अनुभूति सुनाउँदै आगामी ओलम्पिकमा गोल्ड मेडलका लागि तयारी गर्ने बताइन्। कार्यक्रममा प्रशिक्षक कविराज नेगी लामा, व्यवस्थापक रामचन्द्र श्रेष्ठ, नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा, महासचिव दीपराज गुरुङ लगायत पदाधिकारी, राखेप सदस्य सचिव टंकलाल घिसिङ र पलेशाका बुवा प्रदीप गोबर्धनले आफ्ना अनुभव सुनाएका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 11

प्रतिक्रिया (०)

सम्बन्धित खबर