Aamsanchar

ताप्लेजुङको फुङ्लिङमा निर्माण गरिएको नयाँ बसपार्क सञ्चालनमा

Author Image
शनिवार, भदौ २२, २०८१

ताप्लेजुङ- ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा निर्माण गरिएको नयाँ बसपार्क सञ्चालनमा आएको छ। फुङ्लिङ नगरपालिका–४ अम्बिटार नजिक गैरीमा निर्माण भएको बसपार्क  सञ्चालनमा आएको हो।

बसपार्क सञ्चालनमा आएसँगै सवारी साधनहरु पार्किङ  थालिएको छ। बजार क्षेत्रभन्दा अन्तर अर्थात पायक पर्ने ठाउँमा निर्माण नभएको भन्दै नयाँ बसपार्क प्रयोग गर्न असम्भव हुने यातायात व्यवसायीले बताउँदै आएका थिए। एकान्त ठाउँमा रहेको बसपार्कमा सवारी साधन लैजान वा पार्किङ गर्न असुरक्षित हुने व्यवसायीको भनाइ थियो।

जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहितको उपस्थितिमा फुङ्लिङ नगरपालिकामा बसेको बैठकले नयाँ बसपार्क सञ्चालनमा ल्याउने निर्णय गरेको थियो। यसअघि अस्थायी रुपमा प्रयोग गरिँदै आएको तोक्मेडाँडा बसपार्कमा बिहीबारदेखि नै चारपाङ्ग्रे माथिका सवारी प्रवेश तथा पार्किङ गर्न नपाउने पनि सोही बैठकले निर्णय गरेपछि सवारी साधन पार्किङका लागि नयाँ बसपार्कमा लैजान व्यवसायी बाध्य भएका हुन्।

नयाँ निर्माण भएको बसपार्क सञ्चालनमा आए पनि सीमित सवारी साधन मात्र पार्किङ गरिएको पाइएको छ। तोक्मेडाँडामा भने सवारी साधन पार्किङ गर्न छोडिएको बताइएको छ। अधिकांश सवारी साधन बजारभित्रका सडक किनारमा अव्यवस्थित रुपमा पार्किङ गरिँदै आएको र अहिले पनि त्यसैगरी पार्किङ गर्ने गरिएको छ। बजारभित्रका सडक छेउछाउ अर्थात् किनारामा गर्ने गरिएको सवारी पार्किङलाई व्यवस्थित गर्ने विषयमा भने कुनै पहल भएको पाइएको छैन।

बजारभित्र विभिन्न ठाउँमा टिकट काउन्टर र सडक किनारामै सवारी साधन पार्किङ गर्नाले सडक दुर्घटनाको जोखिम उच्च छ। सडक किनारामा हुने सवारी पार्किङका कारण पैदल यात्रुलाई आउजाउ साथै सडक पार गर्न निकै असहज हुने गरेको छ। बजारभित्र सडकको दाँयाबाँया भागमा गरिँदै आएको सवारी पार्किङ र जताभावी रहेको टिकट काउन्टरहरु व्यवस्थित गर्नुपर्ने माग भने पहिलेदेखि नै उठ्दै आएको छ।

यता बसपार्क सञ्चालन गर्नमा आवश्यक सबै पूर्वाधार नयाँ बसपार्कमा निर्माण वा व्यवस्थापन भइसकेको छैन। सबै पूर्वाधारहरु नहुँदा बसपार्क पूर्ण सञ्चालनका लागि समस्या छ। नयाँ बसपार्कमा हाल रहेकोबाहेक सीसी क्यामरा जडानलगायत बाँकी पूर्वाधार र संरचना नगरपालिकाले निर्माण गर्ने भनी निर्णय भने भइसकेको बताइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 11

प्रतिक्रिया (०)

सम्बन्धित खबर