Aamsanchar

एकै नम्बरका पाँचवटा मोटरसाइकल फेला

Author Image
शनिवार, भदौ २२, २०८१

काठमाडौँ – चोरिएका सवारी साधनहरुको खोजतलास गर्न उपत्यका ट्राफिक प्रहरी कार्यालयले छुट्टै टोली परिचालन गर्दै आएको छ । सोहीअनुसार टोलीले काठमाडौँ महानगरपालिका ३१ स्थित मध्य बानेश्‍वरबाट मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई नियन्त्रणमा लिएको छ ।

शंकास्पद अवस्थामा से ७ प ८५६२ नम्बरको नयाँ मोडलको ३५० सिसिको बुलेट मोटरसाइकल चलाइरहेका अछाम जिल्ला चौरपाटी गाउँपालिका २ घर भई कोटेश्वर बस्ने बर्ष २८ को हिमाल खत्रीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

खत्रीसँग बरामद भएको बुलेट मोटरसाईकल नेपालमा दर्ता नभएको जानकारी पश्चात थप अनुसन्धान गर्दै जाँदा एकै नम्बर प्लेटका पाँच वटा मोटरसाइकल फेला परेको छ ।

टोलीले मध्यबानेश्‍वर बस्दै आएका अछाम चौरपाटी गाउँपालिका २ घर भएका २५ वर्षीय प्रमोद कुँवरलाई समेत से ७ प ८५६२ नम्बरको ३५० सिसिको खैरो रंगको बुलेट मोटरसाईकल सहित नियन्त्रणमा लिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्‍वराज खड्काले जानकारी दिए ।

वास्तविक नम्बर बागमती प्रदेश ०२–०४७ प १९७५ रहेको उक्त मोटरसाइकल काठमाडौँ स्थित रानीबारीबाट गत श्रावण २८ गते हराएको भनि रानीबारी बस्ने रुपन्देहीका अनुज पाण्डेले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए । सोधपुछका क्रममा से ७ प ८५६२ नम्बर भएको अर्को मोटरसाइकल समेत रहेको चोरीमा संलग्न कुँवरबाट खुलेपछि गाडा निलो रंगको १५० सिसिको एफ.जेड.एस.मोटरसाइकल समेत छाउनीबाट नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको क्रममा वास्तविक नम्बर बागमती प्रदेश ०२–०३८ प ९२५३ रहेको उक्त मोटरसाइकल काडाँघारी बस्ने ओखलढुंगाका उत्तम कुमार पराजुलीको रहेको खुल्न आएको छ । उक्त मोटरसाईकल ललितपुरको बालकुमारी क्षेत्रबाट गत वर्ष असोजमा हराएको थियो ।

थप अनुसन्धान एवं कारबाहीका लागि चोरीमा संलग्न कुँवरलाई बरामद भएका मोटरसाईकल सहित प्रहरी वृत्त लैनचौरमा र नेपालमा दर्ता नगरि भन्सार छलेको आशंकामा बुलेट मोटरसाइकल सहित खत्रीलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरण पठाइएको प्रवक्ता खड्काले जानकारी दिए ।

अनुसन्धान गर्दै जाँदा करिव एकमहिना अगाडी से ७ प ८५६२ नम्बर प्लेट भएको कालो रंगको यामाहा कम्पनीको १५५ सिसिको एमटी १५ बेबारिसे अबस्थामा फेलापारि प्रहरी बृत्त सिंहदरवारको नियन्त्रणमा रहेको तथ्य खुलेको उनले बताए । बास्तबिक नम्बर बा.प्र.०२–०२२ प ५०७८ भएको उक्त मोटरसाईकल बागबजार बस्ने हितेश तण्डुकारले सिफल एरियाबाट हराएको भनी ट्राफिक प्रहरीमा निवेदन दिएको खुलेको छ ।

थप सूचनाको आधारमा नियन्त्रणमा लिएको बास्तबिक नम्बर से ७ प ८५६२ भएको गाडा निलो रंगको १५० सिसिको एफ।जेड।एस। भने भन्सार कार्यालय पठाइएकोमा उक्त मोटरसाइकल खत्रीको रहेको तथ्य समेत खुलेको थियो । उक्त मोटरसाईकलको बास्तबिक ब्लुबुकलाई प्रयोग गरि अन्य मोटरसाईकल समेत प्रयोग गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

उक्त मोटरसाईकललाई नियन्त्रणमा राखि थप अनुसन्धान कार्य भैरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 51

प्रतिक्रिया (०)

सम्बन्धित खबर