Aamsanchar

जलविनायकमा गणेश चतुर्थीको मेला, भक्तजनको घुइँचो

Author Image
शनिवार, भदौ २२, २०८१

काठमाडौं – काठमाडौंको उत्तरी भेगस्थित चोभारको जलविनायकमा गणेश चतुर्थीको मेला लागेको छ । विघ्नबाधा हटाउने गणेशको पूजाआराधना तथा दर्शन गर्न काठमाडौं उपत्यकाका साथै आसपासका क्षेत्रबाट भक्तजनको घुइँचो लागेको हो ।

हिन्दु धर्मावलम्बीले गणेशको जन्मदिनका रूपमा आजको दिनलाई विशेष पर्व मानेर मनाउने प्रचलन छ । गणेश चतुर्थीका दिन मनाइने यो पर्वलाई गणेश चौँथी पनि भनिन्छ ।
आजको दिन भक्तजनले पवित्र तलाउ, कुण्डमा स्नान गरी गणेशको दर्शन गरेर व्रत बस्ने, फलफूल चढाएर वरपर क्षेत्रमा परिक्रमा गर्ने प्रचलन छ ।

वैदिक धर्मावलम्बीले कुनै पनि पूजा तथा शुभकार्य गर्दा गणेशलाई अग्रस्थानमा विराजमान गराई पहिलो पूजा गर्ने÷गराउने गर्छन् । यसो गर्नाले मनोकांक्षा पूरा हुने, पारिवारिक सुख, शान्ति तथा कल्याण हुने जनविश्वास रहेको मन्दिरका पूजारी अनिश श्रेष्ठले बताए ।

काठमाडौं उपत्यकाका महत्त्वपूर्ण चार विनायकमध्ये सनातन धर्मावलम्बीको पवित्र तीर्थस्थलका रूपमा जलविनायकलाई लिइन्छ । महादेव र पार्वतीको सन्तानका रूपमा जन्मिएका गणेशको दर्शन तथा तीर्थ गरेमा पुण्य सञ्चय हुने विश्वास रहेको मन्दिरका पूजारी श्रेष्ठले जानकारी दिए ।

गणेशको रथयात्रा गरिने भएकाले यसमा सहभागी हुन उल्लेख्य रूपमा भक्तजन आउने गरेको छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 11

प्रतिक्रिया (०)

सम्बन्धित खबर