Aamsanchar

थारू समुदायले आज अटवारी पर्व मनाउँदै

Author Image
आइतवार, भदौ २३, २०८१

काठमाण्डौ – पश्चिम तराईका थारू समुदायले आज अटवारी पर्व मनाउँदै छन् । यो पर्व आइतवार मनाइने हुनाले ‘अटवारी’ भनिएको हो । महाभारतकालमा पञ्चपाण्डवमध्येका भीमले वनबासका बेला प्रदर्शन गरेको बहादुरीको स्मरणमा भीमको पूजा गरी अटवारी पर्व मनाउन शुरु भएको कैलालीको घोडाघोडी नगरपालिका नगर स्तरीय भलमन्सा कार्यसमितिका अध्यक्ष बुधराम चौधरीले जानकारी दिनुभयो ।

अटवारी पर्व भाद्र कृष्ण अष्टमीपछिको दोस्रो आइतवारका दिन मनाइन्छ । उहाँकाअनुसार अटवारी विशेषगरी दुई दिन मनाउने गरिन्छ । यो पर्वमा दाजुभाइले दिदीबहिनीका लागि व्रत बस्ने चलन छ । शनिवारको राति भिन्सर्या ९दर भात० खाने चलन छ ।

आज पहिलो दिन दिनभर व्रत बसेर फलफूल र रोटीका परिकार बनाउने गरिन्छ भने दोस्रो दिन भोलि बिजोडी थरिथरिका तरकारीलगायत खानेकुरा पकाइन्छ । व्रत लिएर बेलुका पूजाको काम सकिएपछि छोरी, दिदीबहिनीका लागि छुट्याइने खानाको परिकारलाई ‘अग्रासन’ दिने भनिन्छ । त्यही परिकार लिएर दाजुभाइ विवाहिता दिदीबहिनीलाई भेट्न उनीहरूकै घर जान्छन् ।

अग्रासनलाई दिदीबहिनीले अत्यन्त महत्वका साथ लिने गरेको थारु अगुवा चौधरीले बताउनुभयो । अग्रासन दिइसकेपछि यो पर्वको समापन भएको मानिन्छ । आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने पर्वका रूपमा पनि ‘अटवारी’लाई लिने गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 38

प्रतिक्रिया (०)

सम्बन्धित खबर