Aamsanchar

धनकुटामा तरकारी खेतीप्रतिको आकर्षण

Author Image
मङ्गलवार, भदौ २५, २०८१

हिले- पछिल्लो समय धनकुटामा तरकारी खेतीप्रतिको आकर्षण बढ्दो छ । बजारको सहज पहुँच, सडक विस्तारलगायतका कारण मौसमी तथा बेमौसमी तरकारी उत्पादनमा धनकुटा कोशी पहाडी जिल्लामै अग्र स्थानमा देखिएको छ । कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार आर्थिक वर्ष २०७९/८० मा पाँच हजार ९८१ हेक्टरमा तरकारी उत्पादन भएकोमा गत आवमा पाँच हजार ९९७.२० हेक्टर व्यावसायिक तरकारी खेती भएको छ । यहाँ अघिल्लो आवमा एक लाख ३३ हजार ५९५/५० मेट्रिक टन तरकारी उत्पादन भएकोमा गत आवमा एक लाख ३७ हजार ४४८ मेट्रिक टन उत्पादन भएको छ । तरकारी उत्पादनको यो परिमाण कोशी पहाडका भोजपुर, तेह्रथुम र सङ्खुवासभा जिल्लाको तुलनामा बढी भएको रहेको केन्द्रले जनाएको छ ।

धनकुटामा सबैभन्दा बढी गोलभेँडा ५६ हजार ४३० मेट्रिक टन उत्पादन भएको छ । त्यस्तै बन्दा ३९ हजार ९९० मेट्रिक टन, काउली ११ हजार ७४६ मेट्रिक टन, मुला १० हजार १७८ मेट्रिक टन उत्पादन भएको छ । धनकुटामा उत्पादन भएको कृषिजन्य उत्पादन सिँधुवा बहुउद्देश्यीय सहकारी सङ्कलन केन्द्र छथर जोरपाटी, गुठीटार तरकारी केन्द्र धनकुटालगायत एक दर्जन तरकारी सङ्कलन केन्द्रमार्फत पूर्वी तराईका धरानको कृषि बजार, इटहरी, विराटनगर, दमक र बिर्तामोडमा हुँदै भारत, बङ्गलादेश, भुटानसम्म बिक्री हुने गरेको केन्द्रका प्रमुख नगेन्द्र रानाले जानकारी दिनुभयो । यहाँ उत्पादित ९० प्रतिशत तरकारी जिल्लाबाहिर बिक्री हुने गरेको उहाँको दाबी छ । महालक्ष्मी नगरपालिका–४ का कृषक तोयानाथ काइरालाले आधुनिक खेती प्रविधि तथा टनेल खेतीले थप तरकारी खेतीमा कृषक आकर्षित भएको बताउनुभयो ।

जिल्लाको छथर जोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिकाको अधिकांश क्षेत्रमा र धनकुटा नगरपालिका र पाख्रिबास नगरपालिकाको केही क्षेत्रसहित सातै पालिकामा तरकारी उत्पादन हुने गरेको छ । विशेष गरी विदेशबाट फर्केका युवा व्यावसायिक तरकारी खेतीमा संलग्न छन् । केन्द्रका अनुसार जिल्लाको कुल जनसङ्ख्यामध्ये ४० प्रतिशत व्यावसायिक कृषिमा संलग्न छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 48

प्रतिक्रिया (०)