Aamsanchar

‘बिर्तामोड भगवान चौकमा रहेको स्पाइन एक्स हस्पिटलमा हेल्परले अप्रेशन गर्दा ३० वर्षे युवकको मृत्यु, आर्थिक लेनदेनमा विवाद साम्य’

Author Image
मङ्गलवार, भदौ २५, २०८१

झापा । झापाको बिर्तामोड स्थित भगवान चौकमा रहेको स्पाइन एक्स सुपर स्पेसलिटी हस्पिटल एण्ड ट्रमा सेन्टरमा लापरवाहीका कारण विरामीको मृत्यु भएको घटना बाहिर आएको छ ।

एनेस्थेसिया चिकित्सक बिना नै हेल्परले अप्रेशन गरेपछि विरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले आन्दोलन गरेका छन् । ट्रमा सेन्टरको लापरवाहीले विरामीको मृत्यु भएको भन्दै आफन्तहरु आन्दोलित भएका छन् । दुर्घटनामा परी घाइते भएका भारतको बिहारस्थित जोगबनी घर भई हाल फिदिम नगरपालिका वडा नं. २ पल्लोटारमा बस्दै आएका ३० वर्षीय मोहमद इर्साद हुसेनको उपचारका क्रममा आज बिहान ७ बजे मृत्यु भएको थियो । त्यसपछि आफन्तहरुले अस्पतालमा होहल्ला गरेपछि अस्पताल परिसर तनावग्रस्त बनेको थियो ।

अस्पतालमा तनाव भएपछि प्रहरी पठाएर स्थिति सामान्य बनाएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । अस्पताल पक्षले उपचार खर्च मिनाहालगायत लेनदेनमै विवाद मिलाएको बताइएको छ । त्यसपछि मृतक परिवारले शव बुझेका थिए । हुसेन पाँचथरको एक ट्रयाक्टर ग्यारेजमा काम गर्दथे ।

पाँचथरको फिदिम नगरपालिका वडा नं. २ लाँलीखर्कस्थित मेची राजमार्गमा ताप्लेजुङबाट झापातर्फ आउँदै गरेको प्र १–०१–००१ ख ४३३४ नम्बरको ट्रक र फिदिमतर्फ जाँँदै गरेको हुसेन चढेको मे ८ प ७९०४ नम्बरको मोटरसाइकल शनिवार दिउँसो १२ बजे एकापसमा ठोक्किएको थियो । तिघ्रामा चोट लागेर हुसेन गंभीर घाइते भएका थिए ।

उनलाई पाँचथर जिल्ला अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारको लागि सोही दिन बेलुका स्पाइन एक्स सुपर स्पेसलिटी हस्पिटल एण्ड ट्रमा सेन्टरमा रिफर गरिएको थियो ।
ट्रक चालक पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं.२ काबेली निवासी ३६ वर्षीय तिलक भण्डारीलाई जिल्ला प्रहरी कार्यालय पाँचथरले नियन्त्रणमा लिएको छ ।

३० करोड रुपैयाँ लगानीमा नेपालमै पहिलोपटक झापामा स्पाइन एक्स सुपर स्पेसलिटी हस्पिटल एण्ड ट्रमा सेन्टर सञ्चालनमा आएको बताइएको छ । सन् २०२४को अवसर पारेर १५ शैययाको अस्पताल उद्घाटन गरिएको र अस्पतालको सेवा विस्तारसंगै ५० करोड लगानी गर्दै अस्पताललाई नेपालकै नमूना अस्पताल बनाउने लक्ष्य लिइएको अस्पताल सञ्चालक डा. प्रेमबहादुर शाहीले दावी गर्दै आएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
1
+1
0
+1
0
+1
5
+1
1
Views: 85

प्रतिक्रिया (०)

सम्बन्धित खबर