Aamsanchar

सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई उच्च अदालत विराटनगरबाट पनि सफाइ

Author Image
बुधवार, भदौ २६, २०८१

विराटनगर – अनुयायीलाई बलात्कार गरेको आरोप लागेका विवादास्पद धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई उच्च अदालत विराटनगरले पनि सफाइ दिएको छ। सुनसरीको चतरा धामस्थित आश्रममा बस्दै आएका सिद्धबाबालाई सफाइ दिने जिल्ला अदालत सुनसरीको फैसलालाई उच्च अदालतले मंगलबार सदर गरेको हो।

उच्च अदालत विराटनगरका रजिष्ट्रार जगदीशप्रसाद भट्टका अनुसार न्यायाधीश विमल सुवेदी र राजेन्द्र अधिकारीको संयुक्त इजलासले सुनुवाइ गर्दै जिल्लाको फैसला सदर गरेको हो।

महिला अनुयायीलाई आश्रममा बोलाएर २०७६ कात्तिकमा बलात्कार गरेको आरोप लागेपछि सिद्धबाबा अनुसन्धानमा तानिएका थिए। बलात्कार(जबरजस्ती करणी) मुद्दा चलाइएका उनलाई यसअघि सुनसरी जिल्ला अदालतले २ पटक सफाइ दिएको थियो। पहिलोपटक सुनसरी अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले २०७७ मंसिरमा सफाइ दिएको थियो।

सुनसरी अदालतकै न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले सिद्धबाबालाई २०८० भदौमा दोस्रोपटक सफाइ दियो। अभियोग दाबी नपुग्ने भन्दै दुवैपटक सुनसरी अदालतबाट सफाइ पाएका उनीविरुद्ध सरकारी वकिल कार्यालयले उच्च अदालतमा पुनरावेदन गरेको थियो।

उनीविरुद्धको मुद्दाको सुरु फैसला नमिलेको भन्दै उच्च अदालत विराटनगरले त्यसलाई उल्टाएर फेरि निर्णय लिन जिल्ला अदालतलाई आदेश गरेको थियो। आवश्यक प्रमाण जुटाएर मुद्दाको फैसला गर्न उच्चले आदेश गर्यो। तर, दोस्रोपटक पनि उनले जिल्लाबाट सफाइ पाएका थिए।

सुरु फैसला हुनुअघि २०७७ मंसिरमा सुनसरी जिल्ला सरकारी वकिल कार्यालयले पेसी सार्न माग गर्दै निवेदन दिएको थियो। तर, आरोपित पक्षको मात्रै बयान सुनेर एकतर्फी सुनुवाइकै आधारमा जिल्लाले फैसला गरिदियो। त्यसपछि सरकारी वकिल कार्यालयले गरेको पुनरावेदनका आधारमा उच्चले आवश्यक प्रमाण जुटाएर मुद्दामा निर्णय लिन जिल्लालाई आदेश गरेको हो।

सिद्धबाबाले अनुयायीलाई बलात्कार गरेको भन्दै सुरुमा २०७६ कात्तिकमा काठमाडौं प्रहरी परिसरमा जाहेरी परेको थियो। त्यसपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले घटनाबारे अनुसन्धान गरेर जिल्ला प्रहरी कार्यालय सुनसरीलाई जिम्मा दियो। बिरामी भएको भन्दै सिद्धबाबाले हिरासत अवधि विराटनगरको विराट नर्सिङ होममा बिताए।

उनी अस्पतालमै भएका बेला जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। त्यसविरुद्ध सरकारी वकिल उच्च अदालत पुग्यो।

उच्च अदालतका तत्कालीन मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ (हाल सर्वोच्चका न्यायाधीश) र प्रेमराज कार्कीको संयुक्त इलजालसले जिल्लाको आदेश उल्टाउँदै सिद्धबाबालाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो।

उच्चको आदेशपछि उनी सुरक्षा गार्डलाई जोगवनीनजिक छाडेर भारततिर भागेका थिए। पछि अदालतमा हाजिर भएका उनलाई झुम्का कारागार चलान गरिएको थियो। २ पटक जिल्लाबाट सफाइ पाएका सिद्धबाबाले अहिले आएर उच्चबाट पनि सफाइ पाएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 31

प्रतिक्रिया (०)

सम्बन्धित खबर