Aamsanchar

मुस्ताङ लोमान्थाङकाे ऐतिहासिक निर्फु गुम्बा पुनःनिर्माण सम्पन्न

Author Image
बिहिवार, भदौ २७, २०८१

म्याग्दी – मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ छोसेरमा रहेको धार्मिक, पर्यटकीय महत्वको ऐतिहासिक निर्फु गुम्बा पुनःनिर्माण सम्पन्न भएको छ।

१५औँ शताब्दीमा पहाडको भित्तामा रहेको गुफामा स्थापना भएको गुम्बा विसं २०७२ को गोरखा भूकम्पले असर पुर्‍याएको थियो।

भूकम्प एवं वर्षाले समेत गुम्बाका संरचना भत्किने अवस्थामा पुगेकाले काठमाडौँस्थित जर्मन राजदूतावासको सहयोगमा पुनःनिर्माण गरिएको गुम्बाका लामा छोम्भे गुरुङले बताए।

“जर्मन राजदूतावासको ६६ लाख आर्थिक सहयोगमा गुम्बाको परम्परागत संरचनालाई यथावत राखेर मौलिकता बिग्रन नदिई पुनःनिर्माण गरिएको हो,” उनले भने‚ “पुननिर्माण गरेपछि गुम्बाभित्र पानी चुहिने तथा ढुंगा खस्ने समस्या हटेको छ।”

३ कोठा भएको गुफामुनि गुम्बाका संरचनाहरु छन्। पहाडको फेदीमा पुगेको सडकदेखि गुम्बा हुँदै गुफामा पुग्ने पदमार्ग निर्माण भएको र भर्‍याङ राखिएको छ।

गुफाभित्र बौद्ध धर्मसम्बन्धी पुस्तक संकलन गरेर धार्मिक पुस्तकालय स्थापना गर्न थालिएको छ। गुफाको बाहिरी भागमा झ्याल राखिएको छ।

गुम्बा र गुफाको रंगरोगन गरेपछि आकर्षक देखिएको छ। मुस्ताङका तत्कालीन दोस्रो सांस्कृतिक राजा आगुन साङ्वोका तेस्रो छोरा सोनाम लोवो खेनचेन ९सोनाम इन्टुक० ले १५औँ शताब्दीमा निर्फुको गुफामा ध्यान बस्नका लागि गुम्बा स्थापना गरेको बौद्ध ग्रन्थहरुमा उल्लेख छ।

नेपाल र भारतका धेरै भिक्षुहरु ध्यान बस्न आउने शान्त ठाउँमा रहेको निर्फु गुम्बाको धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्व रहेको छ।

गुफा र गुम्बा अवलोकन गर्न पर्यटकहरु आउँछन्। निर्फु गुम्बाअन्तर्गत सन् २००४ देखि सञ्चालन भएको लामासम्बन्धी कक्षा ८ सम्मको पठनपाठन हुने विद्यालयमा हाल ६० जना विद्यार्थी छन्।

नेपाली, अंग्रेजी र भोट भाषाको पठनपाठन हुने यस विद्यालयमा गोर्खा वेलफेयरको ३० लाख रुपैयाँ सहयोगमा तीनकोठे कक्षा कोठा भवन निर्माण भएको छ।

भारतीय राजदूतावास र लोमान्थाङ गाउँपालिकाको लागत साझेदारीमा करिब ५ करोड रुपैयाँ लागतमा छात्रावास भवन पनि निर्माणाधीन रहेको लामा गुरुङले बताए। सिंगापुरमा रहेका छोसेरवासीहरुको अगुवाईमा निर्फु गुम्बाको नयाँ भवन पनि निर्माणाधीन छ।

चीनको सिमानामा रहेको नेपालको अन्तिम मानवबस्ती छोसेरको आकर्षण निर्फु र गार्फु गुम्बा तथा झोङ गुफा हुन्।

गुफा र गुम्बा अवलोकनका लागि नेपालीलाई १ सय र विदेशीलाई प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क तोकिएको छ। चीन र भारत जोड्ने बेनी–जोमसोम–कोरला सडकको नेचुङदेखि सवारीसाधनमा ५ मिनेट यात्रा गरेपछि छोसेर पुग्न सकिन्छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 67

प्रतिक्रिया (०)

सम्बन्धित खबर