Aamsanchar

प्रहरीद्वारा मुन्धुम ट्रेलमा ११३ किलोमिटर लामो गस्ती

Author Image
बिहिवार, भदौ २७, २०८१

खोटाङ- प्रहरीले मुन्धुम ट्रेलमा ११३ किलोमिटर लामो गस्ती गरेको छ । मुन्धुम ट्रेलमा सुरक्षा अवस्था, मुन्धुम ट्रेलमा यात्रा गर्ने पर्यटकको सुरक्षा उपाय लगायतका बारेमा जानकारी लिन जिल्ला प्रहरी कार्यालय खोटाङले ११३ किलोमिटर लामो गस्ती गरेको हो ।

खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलको देउरालीबाट सुरु गरिएको प्रहरीको गस्ती मुन्धुम ट्रेल पार गर्दै साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको बादुङ पुगेर टुङ्ग्याइएको छ । मुन्धुम ट्रेलमा प्रहरीको उपस्थिति देखाउँदै मुन्धुम ट्रेलको सुरक्षावस्था, मुन्धुम ट्रेलमा यात्रा गर्ने पर्यटकको सुरक्षा उपाय लगायतका बारेमा जानकारी लिएर भावी सुरक्षा रणनीति निर्माणका लागि गस्ती गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताउनुभयो ।

मुन्धुम ट्रेल पार गरेको गस्तीलाई जिल्लामा प्रहरीको हालसम्मै लामो गस्ती मानिएको छ ।

प्रहरीको गस्ती टोलीले देउराली, धर्मपिक, घ्याङखर्क, बुर्चोपिक, छेकुवा, कुलुपोङ्खो पास, साल्पा पोखरी, सिलिचुङ पिक हुँदै मुन्धुम ट्रेलको बाटो निकास, हाँडीपोखरी, लाउरे थाम, लाउरी भिर, बलौटे भन्ज्याङ, सातदोबाटो, हाँसपोखरी, धोद्रे, दलसिङ्गे, चखेवाभञ्ज्याङ हुँदै बादुङसम्मको यात्रा गरेको थियो ।

गस्तीका क्रममा प्रहरी टोलीले सम्बन्धित स्थानका चौरी गोठ, भेडी गोठ र गाई गोठका सञ्चालक तथा हेरालुसँग शान्ति सुरक्षाका विषयमा अन्तरक्रिया गरेको छ । यस्तै, मुन्धुम पदमार्गबाट यात्रा गरिरहेका आन्तरिक पर्यटकलाई सुरक्षाका विविध पाटाका विषयमा जानकारी गराइएको प्रहरीले जनाएको छ ।

खोटाङ, सोलुखुम्बु, भोजपुर र सङ्खुवासभाको सिमाना क्षेत्रमा पर्ने रमणीय स्थल साल्पा पोखरी, सिलिचुङ, साथै खोटाङ र भोजपुरको सिमानामा पर्ने चखेवाभञ्ज्याङ, मैयुङडाँडा, हाँसपोखरी, सातदोबाटो, रावाधाप, लगायतको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले २०७५ सालमा मुन्धुम ट्रेलको अवधारणा अघि सारिएको थियो । मुन्दुम ट्रेलले विशेषगरी दर्शनका लागि प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल साल्पा पोखरी र सिलिचुङ पुग्ने दर्शनार्थी बढी लाभान्वित भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 9

प्रतिक्रिया (०)