Aamsanchar

रसुवागढी नाका हुँदै कैलाश मानसरोवर जाने यात्रुको संख्या बढ्याे

Author Image
शुक्रवार, भदौ २८, २०८१

काठमाडौं – रसुवागढी नाका हुँदै कैलाश मानसरोवर जाने यात्रुको संख्या बढेको छ। गत जेठदेखि भदौ २५ सम्म मानसरोवर कैलाश धार्मिकयात्राका लागि सात हजार ५२३ जना तीर्थयात्रुले रसुवागढी मार्गबाट धार्मिक-यात्रा गरेका छन्।

रसुवागढीस्थित अध्यागमन कार्यालय टिमुरेका प्रमुख मुरारी निरौलाका अनुसार कैलाशयात्रा गर्ने यात्रीमध्ये ६० प्रतिशत नेपाली तथा ४० प्रतिशत अष्ट्रेलिया, अमेरिका, क्यानडा र बेलायत बस्ने गैरआवासीय नेपाली नागरिक छन्। उनीहरूको साथमा करिब २०० अन्य देशका पर्यटकसमेत मानसरोवर कैलाश गएको अध्यागमन कार्यालयले जनाएको छ।

काठमाडौंबाट टिमुरे तथा स्याफ्रुबेसीका लागि दुई हजार १० यात्रु हेलिकप्टरबाट र अन्य यात्रु मोटरमार्फत स्थलमार्गबाट रसुवागढी पुगेका छन्। रसुवागढी नाकाबाटै एक हजारभन्दा बढी विदेशी पर्यटक ल्हासातर्फ गएका छन्।

मानसरोवर कैलाश जानका लागि भारतीय नागरिक भने नआएको अध्यागमन कार्यालयले जनाएको छ।

Views: 104

प्रतिक्रिया (०)

सम्बन्धित खबर