Aamsanchar

दाङ : गुणस्तरीय शिक्षामा मावि सेन्टर

Author Image
आइतवार, भदौ ३०, २०८१

दाङ – सामुदायिक तथा सरकारी विद्यालयहरूमा विद्यार्थीको सिकाइ उपलब्धिमा सुधार हुन नसकिरहेको अवस्थामा दाङको तुलसीपुरस्थित माध्यमिक विद्यालय तुलसीपुर सेन्टरले गुणस्तरीय सिकाइका लागि कार्ययोजना नै बनाएर सुधारको अभियान थालेको छ। तहगत र क्षेत्रगत रूपमा सिकाइ उपलब्धिका आधारमा उत्कृष्ट रहँदै आएको सेन्टरले गुणस्तरीय शिक्षा थप प्रभावकारी बनाउन नयाँ नीति अवलम्बन गरेको हो।

विद्यालयमा गुणस्तर शिक्षा र विद्यार्थीको सिकाइ उपलब्धि बढाउन नीतिगत रूपमा विद्यालयले कदम चालेको विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले बताए। विगतदेखि सुधारको नीति लिइँदै आएको भए पनि नयाँ शैक्षिक सत्रदेखि थप सुधार नीति बनाएर जिल्लामै उत्कृष्ट शिक्षण क्रियाकलाप सञ्चालन गरिन लागेको पौडेलको भनाइ छ। यो वर्षदेखि तीन प्रकारले शिक्षा दिने व्यवस्था गरेको भन्दै उनले अभिभावकले बच्चाबच्चीका लागि जस्तो शिक्षाको अपेक्षा गर्छन् त्यस्तै शिक्षा दिने तयारी गरेको बताए। उनले नेपाली माध्यम, अंग्रेजी माध्यम र विशिष्टीकरणको अंग्रेजी माध्यमबाट कक्षाहरू सञ्चालन सुरु गरिएको बताए। विद्यालयले विद्यार्थीले जस्तो शिक्षा खोज्छन्, त्यहीअनुसारकोे शिक्षा दिन तयार रहेको उनले जानकारी दिए।

विगतमा नेपाली र अंग्रेजी माध्यमबाट मात्रै शिक्षा दिइरहेको विद्यालयले यस वर्षदेखि सुविधासम्पन्न विशेष प्रकारको अंग्रेजी माध्यमको पढाइ सुरु गरेको छ। सुविधा सम्पन्न कक्षाबाट शिक्षण क्रियाकलाप सञ्चालन हुने गरी विशेष कक्षा स्थापना भएको र यो कक्षा सशुल्क र तर आधुनिक र प्रभावकारी कक्षा रहने बताए।

केही वर्षदेखि विद्यालयमा शैक्षिक गुणस्तर सुधार हुँदै गएपछि विद्यार्थीको चाप पनि अत्यधिक रहेको छ। विद्यालयमा अहिले २ हजार ५ सय विद्यार्थी अध्ययनरत छन्। १ सय ८५ जना शिक्षक कर्मचारी कार्यरत छन्। विद्यार्थीको संख्या अत्यधिक रूपमा बढ्न थालेपछि र व्यवस्थापनमा समस्या भएपछि विद्यालयले नयाँ भर्ना नै रोक्ने अवस्थामा पुगेको विद्यालयले जनाएको छ। विद्यार्थीको संख्या बढाउनेभन्दा पनि गुणस्तरीय शिक्षा प्रदान गर्नेमा आफूहरूको ध्यान केन्द्रित रहेकोले संख्याभन्दा गुणस्तरमा बढी ध्यान दिएको प्रधानाध्यापक भागवत पौडेलले बताए। उनले विद्यालयले २५ सयभन्दा बढी विद्यार्थी नरहनेसमेत बताए। विद्यार्थी धेरै भएपछि गत वर्ष मात्रै एक हजारभन्दा धेरै विद्यार्थीलाई भर्ना गर्न नसकेर फिर्ता गर्नुपरेको भन्दै यो वर्ष पनि त्यही अवस्था रहेको बताए। ‘यस वर्ष पनि भर्नाका लागि अत्यधिक सख्या आएको छ’, उनले भने, ‘नाम चलेका निजी विद्यालयबाट धेरै विद्यार्थीहरू सेन्टरमा भर्नाका लागि अनुरोध गरेका छन्।’

मावि सेन्टरमा कार्यरत शिक्षक कर्मचारीहरूले पनि यस वर्षदेखि विद्यालयमा नै आफ्ना छोराछोरी पढाउनुपर्ने निर्णयसमेत गरिएको छ। यसले अन्य अभिभावकलाई विश्वासको वातावरण निर्माण गर्छ। गुणस्तरीय शिक्षा पनि कायम हुन्छ। अन्य विद्यालयहरूभन्दा फरक तरिकाले पठनपाठन सञ्चालन गरेका कारणले पनि मावि सेन्टरमा विद्यार्थीको चाप बढेको पौडेलले बताए। उनले विद्यालयमा विद्यार्थीले चाहेको अतिरिक्त ज्ञानसमेत लिने व्यवस्था विद्यालयले गरेको बताए। किताबी ज्ञानमात्रै नभएर अतिरिक्त ज्ञान पनि सँगसँगै दिइरहेको उनको भनाइ छ। विद्यालयले अहिले उदारकक्षा उन्नतिको सुधारात्मक प्रयास गरेको, उत्तीर्णमात्रै भन्दा पनि तहगत सक्षमता आर्जनलाई ध्यान दिइएको, सक्षमता बढाउन पाठ्यपुस्तकमात्रै भन्दा पनि अतिरिक्त ज्ञानलाई पनि महत्व दिएको, अध्ययन, अनुगमन, मूल्यांकन र सक्षमता मापन तथा चौतर्फी विकासको अवसर सिर्जना गर्नेजस्ता सुधारात्मक कार्य गर्दै आएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 40

प्रतिक्रिया (०)