Aamsanchar

मोरङमा कर्मचारीद्वारा सुरक्षा माग, प्रजिअलाई ज्ञापन पत्र बुझाए

Author Image
आइतवार, भदौ ३०, २०८१

विराटनगर – मोरङमा कर्मचारीले सुरक्षा मागेका छन्। कार्यस्थलमा आक्रमण हुन थालेर काम गर्ने वातावरण नभएको भन्दै पेसागत महासंघमार्फत कर्मचारीले सुरक्षाको माग गरेका हुन्।

पेसागत महासंघ मोरङले प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलाई आइतबार ज्ञापन पत्र बुझाउँदै कर्मचारीको सुरक्षाको मागसहित आक्रमणमा संलग्नलाई अविलम्ब कारबाही हुनुपर्ने अडान राखेको छ। मोरङको रंगेली नगरपालिकाका कर्मचारीमाथि कुटपिट एवं आक्रमण गर्नेलाई कारबाही हुनुपर्ने माग महासंघले गरेको हो।

पेसागत महासंघका जिल्ला अध्यक्ष प्रकाश शर्मा र सचिव सालीग्राम कोइरालाको हस्ताक्षर रहेको ज्ञापन पत्रमा केही दिनअघि मोरङको रंगेलीमा कर्मचारीमाथि आक्रमण गर्नेलाई कारबाही हुनुपर्ने र कर्मचारीको सुरक्षाको प्रत्याभूति गराउनुपर्ने माग राखिएको छ। रंगेली नगरपालिकाले भूमि तथा मालपोत कर वृद्धि गरेको विरोधमा नेपाली कांग्रेसको अगुवाइमा आन्दोलन भइरहेको छ। गत शुक्रबार आन्दोलनकारीले नगरपालिकाका कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाएका थिए।

त्यस क्रममा कर्मचारीमाथि कुटपिट, दुव्र्यवहार र हातपातसमेत भएको थियो। सहायक पाँचौं सुधीर चौधरीलाई सेवा प्रवाहका लागि कार्यालय प्रवेश गर्ने क्रममा केही व्यक्तिहरुले गुन्डागर्दी शैलीमा आक्रमण र कुटपिट गरेको ज्ञापन पत्रमा उल्लेख छ। घटनाप्रति ध्यानआकर्षण भएको भन्दै महासंघले विरोध जनाएको हो।

‘स्थानीय तहले गरेका निर्णयहरू कार्यान्वयन गर्नु गराउनु राष्ट्रसेवक कर्मचारीहरूको कर्तव्य हुने र राजनैतिक समस्याको समाधान राजनीतिक रूपमै गर्नुपर्नेमा कार्यालय प्रवेश गर्दै गरेका राष्ट्रसेवक कर्मचारीमाथि अमर्यादित तथा गुन्डागर्दी शैलीमा कुटपिट गर्नु दुःखद् एवं खेदजनक छ,’ ज्ञापन पत्रमा भनिएको छ, ‘इमान्दार र कर्तव्यनिष्ट कर्मचारीलाई जिम्मेवार दलका कार्यकर्ता तथा दलको संलग्नता देखिने गरी घटाइएको घटना आफैंमा निन्दनीय र अशोभनीय छ।’

यस्ता घटनाले राष्ट्रसेवक कर्मचारीहरूको मनोबल कमजोर भइ सेवा प्रवाहमा गम्भीर असर पर्ने ठहर गर्दै महासंघले पेसाकर्मीको कार्यस्थलको सुरक्षाको प्रत्याभूति गर्न नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार र सुरक्षा निकायलगायतका सरोकारवालासँग माग गरेको छ। रंगेलीको घटनामा संलग्नलाई तत्काल नियन्त्रणमा लिएर कानुन बमोजिम कारबाही गर्नुपर्ने माग गरिएको अध्यक्ष शर्माले बताए।

उनका अनुसार दोषीमाथि कारबाही नभए जस्तोसुकै आन्दोलन गर्ने चेतावनी दिइएको छ। आन्दोलनबाट उत्पन्न परिस्थितिको जिम्मेवार सरोकारवाला नै हुने अवगत गराइएको छ। सरोकारवालासँग छलफल गरेर घटनामा संलग्नलाई कारबाही गरिने प्रजिअ भट्टराईले बताए। उनले राष्ट्रसेवक कर्मचारीलाई अन्याय हुन नदिने प्रतिबद्धता जनाएका छन्।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 44

प्रतिक्रिया (०)