Aamsanchar

विराटनगरको सडकमा पार्किङ गरेर राखिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाकाे ज्यान गयाे

Author Image
सोमवार, भदौ ३१, २०८१

विराटनगर – विराटनगरको सडकमा पार्किङ गरेर राखिएको ट्रकमा मोटरसाइकल ठोक्किएर आइतबार राति दुर्घटना भएको छ। विराटनगर महानगरपालिका–१४ हनुमान मन्दिरनजिक कोशी राजमार्गमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।

मोरङ ट्रफिक प्रमुख इन्सपेक्टर राजन लम्सालका अनुसार सडकको साइडमा पार्किङ गरेर राखिएको यूपी ३ पी २८९१ नम्बरको ट्रकमा विराटनगरबाट रानीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४४ प ८०८५ नम्बरको मोटरसाइकल राति १०:३० बजेतिर ठोक्किएको हो।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार विराटनगर–१० का २५ वर्षीय कृष्ण मण्डलको मृत्यु भएको उनले बताए। दुर्घटनामा परेर कृष्णसहित मोटरसाइकल चालक विराटनगर–१५ का १८ वर्षीय राजीव मण्डल गम्भीर घाइते भएको जानकारी लम्सालले दिए।

घाइतेमध्ये कृष्णको उपचारका क्रममा विराटनगर अस्पताल एवं विराट नर्सिङ होममा सोमबार बिहानका राति १ बजेतिर मृत्यु भएको उनको भनाइ छ। गम्भीर अवस्थाका राजीवको विराट नर्सिङ होममै उपचार भइरहेको छ।

दुर्घटनापछि ट्रक चालक भारतको उत्तर प्रदेश मोहनगन्जका २८ वर्षीय मक्सुद आलम भागेका थिए। खोजतलासका क्रममा उनलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ। मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको पत्ता लागेको प्रहरीको भनाइ छ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 17

प्रतिक्रिया (०)