Aamsanchar

दाङमा केराखेती गर्ने किसानको सङ्ख्या बढ्दै, चाडपर्वमा भने बाहिरी जिल्लाकै भर पर्नुपर्ने

Author Image
सोमवार, भदौ ३१, २०८१

दाङ – दाङमा पछिल्लो समय केराखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । देउखुरी क्षेत्रमा केराखेतीका लागि माटोसँगै सिँचाइको सुविधा भएको र थोरै खेतीबाट राम्रो आम्दानी लिन सकिने भएकाले व्यावसायिक रूपमा केरा खेती गर्नेको सङ्ख्या बढ्दै गएको हो ।

राप्ती गाउँपालिका–७ सिसहनिया निवासी विद्याबहादुर चौधरीले विगत चार वर्षदेखि केराखेती गर्दै आउनुभएको छ । तीन बिघा जग्गा भाडामा लिएर व्यावसायिक केराखेतीमा लाग्नुभएका उहाँले वार्षिक १३ देखि १४ लाख रुपैयाँ बराबरको केरा बिक्री गर्दै आएको बताउनुभयो । केराखेतीका लागि रोपेपछि समय–समयमा गोडमेलसँगै पानी र मलको व्यवस्था गर्नुपर्ने भए पनि अन्य बालीजस्तो मेहनत गर्न नपर्ने उहाँको भनाइ छ ।

कृषि ज्ञान केन्द्रका कृषि अर्थ विज्ञ पृथ्वीराज लामिछानेका अनुसार दाङमा ६ सय ७० हेक्टर जमिनमा व्यावसायिक रूपमा केरा खेती हुने गरेको छ । त्यसमध्ये पाँच सय ३० हेक्टरमा रोपेको केराले वार्षिक चार हजार पाँच सय ३५ मेट्रिक टन उत्पादन दिने गरेको छ ।

यो उत्पादनले अन्य समयमा बजारको झन्डै ६० प्रतिशत माग धान्ने गरे पनि चाडपर्वमा भने बाहिरी जिल्लाकै भर पर्नुपर्ने अवस्था रहेको लामिछाने बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 59

प्रतिक्रिया (०)