Aamsanchar

बङ्गलादेशको अन्तरिम सरकारद्वारा नेपालबाट ४० मेगावाट बिजुली आयात गर्ने योजनालाई स्वीकृति

Author Image
सोमवार, भदौ ३१, २०८१

काठमाण्डौ – बङ्गलादेशको अन्तरिम सरकारले नेपालबाट ४० मेगावाट बिजुली आयात गर्ने योजनालाई स्वीकृति दिएको छ । यो परियोजना यसै वर्षको जुनमा तत्कालीन शेख हसिना नेतृत्वको सरकारले शुरू गरेको थियो । आन्दोलनका कारण हसिना नेतृत्वको सरकार ढलेपछि बनेको अन्तरिम सरकारले नेपालबाट बिजुली किन्ने योजनालाई स्वीकृत गरेको बङ्गलादेशी सञ्चारमाध्यमहरूले बताएका छन् ।

बङ्गलादेशले बिजुली किन्ने योजना स्वीकृत गरेसँगै नेपाल सरकारले दशैँअघि नै बङ्गलादेश र भारतका ऊर्जामन्त्रीहरूसँग संयुक्त छलफल गरेर हस्ताक्षर गर्ने र बिजुली निर्यातको तयारी गरेको छ ।

यसअघि गएको साउनमै सम्झौता गर्ने तयारी भएकोमा बङ्गलादेशमा सरकारविरोधी आन्दोलन भएकाले विद्युत् व्यापारसम्बन्धी त्रिदेशीय सम्झौता हुन सकेको थिएन । अब नेपाल विद्युत् प्राधिकरण, भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) बीच सम्झौतापछि नेपालबाट बङ्गलादेश बिजुली लैजाने बाटो खुल्नेछ ।

नेपालबाट आयात गर्ने बिजुलीको मूल्य प्रतियुनिट ६ दशमलव ४० अमेरिकी सेन्ट अर्थात् ७ दशमलव ३२ टाका तोकिएको सरकारले जनाएको छ । नेपालको बिजुली बङ्गलादेश निर्यातका लागि भारतीय सरकारले प्रसारणलाइनको प्रयोग गर्न अनुमति दिइसकेको छ । प्रसारणलाइन प्रयोग गरेबापतको रकम अर्थात् ुह्विलिङ चार्जु बङ्गलादेशले नै तिर्नेछ ।

बङ्गलादेशले अहिले बिजुली किन्न शुरू गरेमा बङ्गलादेश, नेपाल र भारतबीच त्रिपक्षीय ऊर्जा सहकार्यको नयाँ युग शुरू हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । चरम ऊर्जा सङ्कटको जोखिममा रहेको बङ्गलादेशले भारतबाट मागेअनुसारको बिजुली नपाएपछि भुटान र नेपालबाट बिजुली किन्ने विषयलाई प्राथमिकतामा राखेको छ । यसले नेपाल र बङ्गलादेश दुवै देशको आर्थिक विकासमा योगदान पुर्‍याउने दुवै देशको आशा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 28

प्रतिक्रिया (०)

सम्बन्धित खबर