Aamsanchar

मोरङमा ह*त्या गरिएको अवस्थामा बृद्धको श*व फेला

Author Image
शनिवार, असोज ५, २०८१

विराटनगर – मोरङको पथरीशनिश्चरेमा १ जनाको हत्या भएको छ। हत्या गरिएको अवस्थामा पथरीशनिश्चरे नगरपालिका–७ स्थित मायालु चोकका ६० वर्षीय चन्द्रबहादुर तामाङको बीभत्स शव आफ्नै घरभित्र फेला परेको हो।

इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले हत्या गरिएको अवस्थामा शनिबार बिहान ७:२० बजेतिर शव भेटिएको बताए। उनका अनुसार आफ्नै घरको प्यासेजमा रगतमा डुबिरहेको अवस्थामा चन्द्रबहादुरको शव फेला परेको हो।

मृतकको टाउको र चिउँडोलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले प्रहार गरेका चोटहरु छन्। दाहालका अनुसार शव नजिकै रगत लतपतिएको अवस्थामा धारिलो हतियार खुर्पा पनि फेला परेको छ। खुर्पाले प्रहार गरेर चन्द्रबहादुरको हत्या गरिएको हुनसक्ने डीएसपी दाहालको भनाइ छ।

स्थानीयले घटनाको जानकारी दिएलगत्तै दाहाल नेतृत्वको प्रहरी घटनास्थल पुगेको थियो। डीएसपी दाहाल आफैं खटिएर घटनाको अनुसन्धान गरिरहेका छन्।
आफ्नै घरभित्र हत्या गरिएको अवस्थामा चन्द्रबहादुरको बीभत्स शव फेला परेपनि उनका छोरी ज्वाईं २५ वर्षीय रविन राई फरार छन्। ससुराको हत्या गरेर उनी भागेको हुनसक्ने प्रहरीको भनाइ छ। प्रहरीले रविनको खोजी तीव्र बनाएको छ।

रविन ससुराली घरमा बस्दै आएको खुलेको छ। घरमा ज्वाईं ससुरा मात्रै बस्दै आएको प्रहरीको भनाइ छ। रविनको घर पनि ससुराली घर नजिकै छ। चन्द्रबहादुरकी छोरी (रविन)की पत्नी विदेशमा रहेको प्रहरीले जनाएको छ।

चन्द्रबहादुरका २ छोरा, १ छोरी र पत्नी छन्। पत्नी र छोराछोरी सबै जना विदेशमा रहेको डीएसपी दाहालले बताए। दुवै जना (ज्वाईं ससुरा)शुक्रबार राति घरमै मदिरा सेवन गरेर बसेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

‘ज्वाईं र ससुराले सधैं मदिरा सेवन गरेर होहल्ला गर्ने गरेको छिमेकीले बताएका छन्। गयराति पनि मदिरा सेवन गरेको पाइयो,’ दाहाल भन्छन्, ‘मदिरा सेवनपछि उत्पन्न विवाद हत्यामा परिणत भएको हुन सक्ने देखिन्छ। यद्यपि, रविन फेला नपरेका कारण घटनाका बारेमा स्पष्ट भइसकेको छैन।’ उनका अनुसार चन्द्रबहादुर र रविन दुवै जना ज्यामी काम गर्थे।

कानुनी प्रक्रिया पूरा गरेर घटनस्थलबाट शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 10

प्रतिक्रिया (०)

सम्बन्धित खबर