Aamsanchar

दुर्गा प्रसाईँका समर्थकद्वारा झापामा दुई वटा भारतीय ट्रकमा आगजनी, बन्दको प्रभाव नरहेको प्रहरीको भनाइ

Author Image
सोमवार, असोज ७, २०८१

झापा – मेडिकल व्यवसायी दुर्गा प्रसाईँको समर्थकहरूले झापामा दुई वटा भारतीय नम्बर प्लेट भएको ट्रकमा आगजनी गरेका छन्। बीएण्डसी अस्पतालका सञ्चालकसमेत रहेका प्रसाईँलाई प्रहरीले पक्राउ गरेसँगै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान अन्तर्गतका नागरिक प्रतिरक्षा बल (पीडीएफ)ले आइतबार नै विज्ञप्ति निकाल्दै आज झापा जिल्ला भर यातायात बन्दको घोषणा गरेका थिए।

सोही समूहले गएराति ११:१० बजे कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको बिरिङ खोलाको पुलमा युपी ५७ एटी ४४९३ नम्बरको र आज बिहान पौने ३ बजे बिर्तामोड नगरपालिका ६ गिरीबन्धु टी इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा डब्लुबी ७३ इ ३०५६ नम्बरको भारतीय मालवाहक ट्रकमा आगजनी गरेका हुन्।

बिर्तामोडबाट सुरुङ्गातर्फ प्लाइ बनाउन प्रयोग हुने कच्चा पदार्थ बोकेर जाँदै गरेको युपी ५७ एटी ४४९३ नम्बरको ट्रकलाई ६ वटा मोटरसाइकलमा आएका १०र१२ जनाले रोकेर आगजनी गरी फरार भएका थिए। बिर्तामोडको दमकलको सहयोगमा इलाका प्रहरी कार्यालय बिर्तामोड र सुरुङ्गाको टोलीले राति ११स्५५ बजे ट्रकमा लागेको आगो नियन्त्रणमा लिएको थियो।

ट्रकमा भएको आगजनीबाट अगाडिको भागमा क्षति पुगेको छ। साथै ट्रकका चालक भारत पश्चिम बङ्गाल दार्जिलिङ जिल्ला सिलिगुडी बस्ने ४० वर्षीय कुमार महतो घाइते भएका छन्। दाहिना हातको पाखुरामा जलेर घाइते भएका उनको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ।

त्यस्तै सुनसरीको दुहबीबाट काँकडभिट्टातर्फ जाँदै गरेको डब्लुबी ७३ इ ३०५६ नम्बरको खाली ट्रकलाई ५–६ जनाको समूहले आगजनी गरेका हुन्। ट्रकमा बिर्तामोडको दमकलको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको थियो। आगलागीबाट ट्रकको अगाडिको भाग पूर्णरुपमा जलेर नष्ट भएको छ। साथै ट्रक चालक भारत इस्लामपुरका ४० वर्षीय पोदा राय घाइते भएका छन्। दाहिने हातको पाखुरा र ढाड जलेर घाइते भएका उनको बीएण्डसी अस्पतालमा उपचार पश्चात् भारत घर फर्किसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रसाईँ पक्राउ परेसँगै झापा प्रहरीले आइतबार नै उनका दुईजना समर्थकलाई पक्राउ गरिसकेको छ। पक्राउ पर्नेहरूमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका झापा जिल्ला संयोजक रामचन्द्र मैनाली र नागरिक प्रतिरक्षा बल (पीडीए) का मेची अञ्चल संयोजक दुरेन राई रहेका छन्।
पीडीएफले यातायात बन्दको आव्हान गरेपनि झापामा यातायात सुचारु रहेको प्रहरीले जनाएको छ। राजमार्ग तथा मुख्य बजार क्षेत्रमा सुरक्षाकर्मी तैनाथ गरिएको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 19

प्रतिक्रिया (०)

सम्बन्धित खबर