Aamsanchar

दाङ : तुलसीपुरमा हाइमास्ट बत्ती अझै सञ्चालनमा आएनन्, घोराहीमा महसुल नतिर्दा अन्धकार

Author Image
बुधवार, असोज ९, २०८१

दाङ – लुम्बिनी प्रदेश सरकार तुलसीपुरमा दिएको हाइमास्ट बत्ती अझै सञ्चालनमा आएका छैनन्। तुलसीपुर बजारमा ३ वटा र बिजौरी बजारमा एक गरी ४ वटा हाइमास्ट बत्ती बाल्नको लागि जडान भएको करिब ४ महिना हुन लाग्यो। यी बत्ती बालेको भुक्तानी कसले गर्ने भन्ने विषयमा समस्या हुँदा अहिलेसम्म सञ्चालनमा नआएका हुन।

बत्ती जडान भएको लामो समय हुँदा पनि सुचारु नहुनुमा स्थानीय तहको गैरजिम्मेवारपन भएको स्थानीय डिल्ली बहादुर रावतले बताए। उनले भने,‘यदि यहाँ यी बत्ती आवश्यक थिएनन्, भने किन गाडेको हो। हामीले उज्यालो शहर हेर्न चाहेका थियौँ। यो बत्तीको पोल होइन। प्रदेश सरकारमा पैसा यसरी बत्ती सञ्चालन नगरेर नोक्सानी भयो।’

यस्तै उनले बजारको क्षेत्रलाई कसरी सुरक्षित गर्ने भन्ने कुरा स्थानीय सरकारले दायित्व हुने भन्दै अहिलेसम्म विभिन्न बहानामा बत्ती सञ्चालन गर्न नसक्नु नै दुखद कुरा भएको बताए।

यदि स्थानीय सरकारले यो बत्ती सञ्चालन नगर्ने हो भने आम नागरिकहरू गर्न तयार छन्, विभिन्न राजश्व स्थानीय सरकारले उठाउने तर, नागरिकहरूलाई सुरक्षित बनाउने कुरामा ध्यान नदिनु नराम्रो पक्ष भएको समेत बताए। यस्तै तुलसीपुर ६ हात्तीखौवामा व्यवसायी गर्दै आएका हरि न्यौपानेले तुलसीपुर बजारमा सुरक्षाका दृष्टिकोणले हाइमास्ट लाइट आवश्यक थियो। संरचना तयार पनि भइसकेको हुँदा अहिलेसम्म बत्ती सञ्चालनमा किन ढिलाइ गरेको भन्दै आक्रोश पोखे।

उनले भने,‘ यि बत्तीहरू सञ्चालनमा हुन किन ढिलाइ भइरहेको छ। यी बत्ती कसले लियो, कसले दियो त्यो हामीलाई मतलब भएन। त, बत्ती बल्नुपर्ने हामीहरूको माग हो।’ सबै कुराले ठिक भएका बत्तीहरू बाल्न नसक्ने स्थानीय सरकारले अरू जनताको लागि के काम गर्ने सक्छरु भन्दै उनले प्रश्न गरे।

यस्तै तुलसीपुर उद्योग वाणिज्य सङ्घको पहलमा प्रदेश सरकारले ५२ लाख रुपैयाँका ४ वटा हाइमास्ट बत्ती दिएको थियो। रातको समयमा बजारक्षेत्रमै अन्धकार हुँदा नागरिकहरूलाई समस्या हुने र चोरीका घटनाहरू पनि हुने हुँदा हाइमास्ट लाइट धेरै सहज हुँदा प्रदेश सरकारसँग माग गरेर ल्याएको सङ्घका अध्यक्ष विनिल केसीले बताए।

उनले सबै तयारी भइसकेको बत्तीमा विद्युत जडान गरी सञ्चालन गर्न उपमहानगरलाई पटक पटक आग्रह गर्दै आइरहेको समेत बताए।

उनका अनुसार तुलसीपुर बजारमा १० ठाउँका लागि हाइमास्ट बत्तीहरू प्रदेश सरकारसँग माग गरिएकोमा प्रदेश सरकारले पहिलो चरणमा ४ वटा उपलब्ध गराएको हो। यस्तै उनले आफूहरूलाई जानकारीमा आएअनुसार उपमहानगरले विद्युत कार्यालयलाई बत्ती सञ्चालन गर्नको लागि पत्र पठाएको हुँदा अब छिट्टै सञ्चालन हुने आश रहेको समेत बताए।

घोराहीमा महसुल नतिर्दा अन्धकार

घोराहीको दिपशिखा चोकमा स्थानीयको सहयोगमा ३ वर्ष पहिले एउटा हाइमास्ट बत्ती सञ्चालनमा आएको थियो। तर, ५/ ६ महिनादेखि विद्युतको महसुल नतिर्दा लाइन काटेपछि अहिले अन्धकार भएको स्थानीको गुनासो छ।

सोही चोकमा व्यवसाय गर्दै आएकी भीम कुमारी बाठामगरले पहिला बत्ती सञ्चालन हुँदा सबैलाई सहज भएको भए तापनि अहिले ५ र ६ महिनादेखि बत्ती बल्न छाडेको बताइन्। विद्युतको महसुल नतिर्दा लाइन काटिएकाले अहिले रातको समय हिँडडुल गर्न समस्या हुने भन्दै दुर्घटनामा जोखिम पनि उत्तिकै रहेको बताइन्।

यस्तै अर्का स्थानीय युवराज आचार्यले यो बत्ती सञ्चालन हुँदा यहाँका व्यवसायीहरूलाई धेरै सहज भएको भन्दै अहिले लामो समयदेखि बन्द हुँदा समस्या भएको बताए। उनले भने, ‘यो बत्तीका कारण यहाँ वरपरका सबैलाई सहज भएको थियो। दुर्घटनाको जोखिम पनि कम थियो। अहिले अन्धकार हुँदा यो व्यस्त चोक हो। जसले गर्दा दुर्घटनाको जोखिम बढेको छ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 26

प्रतिक्रिया (०)

सम्बन्धित खबर