Aamsanchar

दुई महिनापछि खुल्यो घान्द्रुक जाने सडक

Author Image
बुधवार, असोज ९, २०८१

कास्की – प्रमुख पर्यटकीय गन्तव्य अन्नपूर्ण आधार शिविर (एबीसी)को प्रवेशद्वार घान्द्रुक जाने प्रमुख सडक साढे दुई महिनापछि खुलेको छ । नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडकको अन्नपूर्ण–१० किलुमा गएको असार २० गते पहिरोले अवरुद्ध भएको थियो । सडक हिजोदेखि पूर्णरूपमा सञ्चालनमा आएको पूर्वाधार विकास कार्यालयका प्रमुख सोभियत खड्काले जानकारी दिनुभयो ।

पहिरोले सडक अवरुद्ध हुँदा स्थानीयवासी समस्यामा परेका थिए । सडक नखुल्दा गाउँमा पर्यटकीय गतिविधि पनि प्रभावित भएको र पोखराबाट घान्द्रुकसम्मको सिधा यातायात सम्पर्क टुटेको थियो ।

गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालय कास्कीको आर्थिक सहयोगमा सडक मर्मत गरिएको हो । पूर्वाधार विकास कार्यालयको २५ लाख र स्थानीय जनश्रमदानबाट दुई लाख २५ हजार गरी २७ लाख २५ हजार रुपैयाँ लगानीमा सडक मर्मत गरिएको कार्यालयका प्रमुख खड्काले बताउनुभयो ।

‘सडकको बीचको भाग भासिँदा एकतिरको गाडी अर्कोतिर जान नसक्ने समस्या थियो । घान्द्रुक जाँदा आधा बाटोसम्म एउटा गाडीमा जाने र त्यसपछि पारिपट्टि रहेको गाडी प्रयोग गर्नुपर्ने बाध्यता थियो । भीरबाट ग्याबिन जालीसहित पर्खाल लगाएर सडक मर्मत गरेका छौँ’, उहाँले भन्नुभयो ।

अन्नपूर्ण गाउँपालिका–१० का वडाध्यक्ष गौतम गुरुङले घान्द्रुक बसपार्कसम्म अब गाडी सजिलै जाने र लामो समयदेखिको अवरोध हटेको बताउनुभयो । पर्यटकको आगमन बढ्ने समयमा सडकको अवरोध हटेकामा घान्द्रुकका पर्यटन व्यवसायी उत्साहित छन् । घान्द्रुकका पर्यटन व्यवसायी अमृत गुरुङले गाउँले र पर्यटकले आवातजावतमा समस्या भोग्नुपरेकामा समस्या समाधान भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडक खण्ड १७ किलोमिटर लामो छ । यही सडक खण्डअन्तर्गत पर्ने नयाँपुल–बिरेठाँटी–कुलडाँडा–घान्द्रुक–उरी सडक निर्माण तथा स्तरोन्नतिका लागि चालू आर्थिक वर्षमा एक करोड ५० लाख रुपैयाँ बजेट प्रदेश सरकारले विनियोजन गरेको छ ।

घान्द्रुक विश्व प्रख्यात अन्नपूर्ण आधार शिविरको प्रवेशद्वारसमेत हो । पर्यटकीय मौसममा घान्द्रुक हुँदै दैनिक सयौं पर्यटक एबीसी पुग्छन् । पछिल्लो समय घान्द्रुक पर्यटनको ´हब`बन्दै गएको छ । गुरुङ संस्कृतिसँग रमाउन र दृश्यावलोकनका लागि आन्तरिक पर्यटक वर्षभरि नै यहाँ पुग्ने गर्दछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 8

प्रतिक्रिया (०)

सम्बन्धित खबर