Aamsanchar

खोला मिचेर बनाएका घरमा महानगरले डोजर चलायो

Author Image
बुधवार, असोज ९, २०८१

तस्बिर : अन्नपूर्ण पाेष्ट

चितवन – नारायणघाट बजार भएर बग्ने पुङ्गी खोला संरक्षणको काम थालेको भरतपुर महानगरपालिकाले खोला अतिक्रमण गरेर बनेका घर टहारा भत्काउन सुरू गरेको छ । खोला अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन ३५ दिने सूचना दिँदा पनि हटाएपछि बुधबारबाट महानगरले डोजर लगाएर भत्काउन थालेको हो ।

 

खोलाको अतिक्रमित जग्गा भन्दै तीन धुर जग्गामा निमार्ण भएको पाँचतले भवन भत्काउन सुरु गरेको हो । खोला मिचेर बनाएको भन्दै नारायणघाटको लायन्सचोकमा रहेको लायन्स क्लबको भवन डोजर लगाएर भत्काएको छ । पटकपटक सूचना गर्दा पनि वेवास्ता गरेपछि महानगरले नै भत्काउन थालेको हो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल ,प्रमुख प्रशासकिय अधिकृत लक्ष्मीप्रसाद पौडेल पुगेका थिए । ‘सार्वजनिक जग्गा मिचेर भवन बनाएर भाडामा लगाएर खाने परिपाटी देखियो । हामी नगरे कस्ले गर्ने अहिले नगरे कहिले गर्ने भनेर यसलाई तोड्न लागेका हौं , ’मेयर दाहालले भनिन् ,‘बजारमा बग्ने खोला दुर्गन्धित भएको छ । हामीले खोला संरक्षण गरेर सौन्दर्यकरणको काम अघि बढाएको हो । ’

 

पुङ्गी खोला संरक्षणको काम महानगरले दुई वर्षदेखि थालेको थियो । महानगरले भत्काएर खोला गुरु योजनासहित महानगरले खोला संरक्षणको काम थालेको हो । लायन्सचोकबाट उत्तरतर्फ खोला अतिक्रमण गरेर बनेका भवन क्रमश भत्काउँदै गएको हो ।

महानगरले मेयरकै संयोजकत्वमा खोला संरक्षण समिति बनाएको छ । सम्बन्धीत वडाका वडा अध्यक्षलाई स्थानिय संयोजक तोकिएको छ । दुईवर्ष अघिदेखि सिमाङ्कन थालेको थियो । वडा नम्बर तीनका वडा अध्यक्ष विकास थापाले निकै मिहेनत गरेर खोलाको सिमाङ्कन गरिएको बताए । ‘हामीले २०२१ सालदेखिको नक्सा खोजेर खोला खोजेका हौं , ’थापाले भने ,‘खोला सिमाङ्कन गर्न निकै गारो भयो । खोला सिमानाका जग्गाधनीको समन्वयबाटै सिमाङ्कन गरेका हौं ।`

लायन्सचोकबाट सुरु गरेर क्षेत्रपुरसम्म भत्काउँदै लगिएको छ । पुङ्ग खोला सबैभन्दा बढी वडा नम्बर दुई, तीन र चारमा बढी भाग पर्छ । सुरुवातमा ३५ दिने सुचना ,त्यसपछि सात दिने सूचना दिएर भत्काउन थालेको भरतपुर महानगरपालिका वडा नम्बर दुईका वडाध्यक्ष मनोज रानाभाटले बताए । ‘यसअघि नापी गरेर सिमाना कायम गरेर सूचना जारी गरेका थियौं । त्यसै अनुसार भत्काउन थालेका हौं ,’रानाभाटले भने , ‘ अहिले सूचना दिँदै हामीले सामान्य भत्काएका हौं । त्यसपछि उहाँहरूले आफै भत्काउने कुरा छ । नभत्काए हामीले नै भत्काउने हो । ’

गणेशथान क्षेत्रदेखि रामघाटहुँदै नारायणी नदीमा मिसिन्छ । रामघाट तर्फ दुवैतर्फ ३५५/३५५ मिटर क्षेत्रमा सौन्दर्यीकरण गरिएको छ । खोला किनारमा वृक्षरोपण गरेर टायल विछ्याएर फुटरेल, रिटेनिङ वाल, रेलिङसहितको संरचना बनाइएको छ । खोला किनारमा पर्यटकले चिया, खाजा खाने स्टेसन, विश्रामस्थल र खुला व्यायामशाला निमार्ण गरिएको छ । यसलाई गणेशस्थानसम्म संरचना बनाउने योजना महानगरको छ । सघन सहरी तथा भवन निर्माण आयोजनाबाट ६ करोड ६५ लाख रुपैयाँको लागतमा पुङ्गी खोला विकास तथा सौन्दर्यकरण कोरिडोर निर्माण गर्न लागिएको हो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 35

प्रतिक्रिया (०)

सम्बन्धित खबर