Aamsanchar

इलाममा अनलाइनबाट नागरिकताको सिफारिस

Author Image
बुधवार, असोज ९, २०८१

इलाम-इलामका दुई नगरपालिकामा अनलाइनबाट नागरिकताको सिफारिस दिन थालिएको छ । इलाम नगरपालिका र सूर्योदय नगरपालिकाका सबै वडा कार्यालयबाट दिइने सिफारिस अनलाइन प्रणालीबाटै थालिएको हो ।

प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठको अध्यक्षतामा भएका दुवै नगरपालिकाका छुट्टाछुट्टै कार्यक्रममा अनलाइन प्रणालीको थालनी गरिएको छ । अबदेखि इलाम नगरपालिकाका १२ वटा वडा र सूर्योदय नगरपालिकाका १४ वटा वडामा अनलाइनबाटै नागरिकता सिफारिसका लागि आवेदकले आवेदन दिनसक्ने भएका छन् ।

इलाम नगरपालिकाको वडा नम्बर–४ र सूर्योदय नगरपालिकाको–२ बाट अनलाइन सिफारिस दिन थालिएको हो । सेवाग्राहीले सिफारिसका लागि आवश्यक कागजपत्र लिएर वडामा गएपछि वडा कार्यालय आफैंले जिल्ला प्रशासन कार्यालयको अनलाइनमा नागरिकता अनुसूचीको फारम भरेर अपलोड गरिदिने इलाम नगरपालिकाका प्रवक्ता नुतनदेव दुलालले बताउनुभयो । ´सेवाग्राहीले वडामा आएर आफ्नो विवरण र आवश्यक कागजात दिनुहुन्छ हामीले त्यसलाई अनलाइन अनुसूची भरेर अन्य प्रमाणपत्रको स्क्यान गरी जिल्ला प्रशासन र गृह मन्त्रालयको समेत वेभ साइडको अनलाईनमा अपलोड गर्छौं,` प्रवक्ता दुलाले भन्नुभयो, ´सेवाग्राहीले आफ्नो सनाखत गर्ने व्यक्तिमात्र लिएर जिल्ला प्रशासन नागरिकता लिन जाँदा हुन्छ ।` नगरपालिकाले सबै वडा सचिवलाई अनलाईन सेवासम्बन्धी प्रशिक्षण दिएको छ ।

उता सूर्योदयमा वडा–२ बाट अनलाइनबाट नागरिकतासम्बन्धी सेवा सुरु गरिएको छ । नागरिकताका लागि अनलाइन सेवा सुरु गर्दै प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले शुन्य कागजको नीति अनुसार गृहमन्त्रालयले गरेको परिपत्र अनुसार इलाममा काम थालिएको बताउनुभयो । ´पहिलो कुरा कामको प्रभावकारिता बढ्ने अपेक्षा छ भने दोहोरो, किर्तै नागरिकता हुने समस्या यो सेवाले अन्त्य गर्छ भन्ने अपेक्षा छ,` प्रजिअ श्रेष्ठले भन्नुभयो, ´पहिलो चरणमा इलाम नगरपालिका र सूर्योदय नगरपालिकामा अनलाइन सेवा सुरु गरिएको छ ।`

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 36

प्रतिक्रिया (०)

सम्बन्धित खबर