Aamsanchar

नेपालमा सुँगुर र कुखुराको मासु निर्यात गर्ने अमेरिकाको प्रस्ताव, मासुमा आत्मनिर्भर नेपाली बजारलाई असर पर्ला ?

Author Image
बुधवार, असोज ९, २०८१
काठमाडौं – अमेरिकाले नेपालमा सुँगुर र कुखुराको मासु निर्यात गर्ने भएको छ ।  नेपालमा खाद्यवस्तु आयात गर्न सम्बन्धित सरकारी निकायको अनुमति लिए पुग्ने भए पनि अमेरिकी पक्षले प्रस्ताव नै राखेपछि यो चासोको विषय बनेको छ ।
 काठमाडौंमा सेप्टेम्बर १६ मा आयोजित नेपाल–अमेरिका व्यापार तथा लगानी फ्रेमवर्क एग्रिमेन्ट (टिफा)को सातौँ बैठकमा अमेरिकी पक्षले प्रस्ताव राखेको थियो ।
अमेरिकी पक्षले नेपालमा सुँगुर र कुखुराको मासु निर्यात गर्ने विषयमा चासो देखाएको थियो । जवाफमा नेपाली पक्षले खुला व्यापार नीति अँगालेको हुँदा कुनै बाधा नरहेको स्पष्ट पारेको थियो । आयात हुने मासुको गुणस्तरका हकमा अमेरिकी खाद्य सुरक्षा तथा निरीक्षण सेवा प्रमाणपत्र (एफएसआईएस फ्रम )६०–५० लाई नै मान्यता दिने प्रतिवद्धता नेपाली पक्षले जनाएको थियो । त्यही प्रतिवद्धतालाई अमेरिकी पक्षले स्वागत गर्दै निर्यातमा कुनै बाधा नहुने विषय संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ । बैठकमा नेपालले आईटी सेवा उद्योगको प्रवर्द्धनको विषयमा जोड दिएको थियो ।
बैठकको नेतृत्व नेपालकातर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की र अमेरिकी पक्षबाट दक्षिण तथा मध्य एसियाका लागि व्यापार प्रतिनिधि सहायक व्यापार प्रतिनिधि ब्रेन्डन लिन्चले गरेका थिए ।
बैठकमा दुवै पक्षबीच आर्थिक सम्बन्धलाई अझ प्रगाढ बनाउने र व्यापार तथा लगानीलाई विविधीकरण गर्ने विषयमा छलफल भएको थियो ।
अमेरिकाले नेपाली बजारमा किन देखायो चासो ?
वाणिज्य सचिव कार्कीले यो विषय अमेरिकी पक्षले पहिलेदेखि नै बैठकमा राख्दै आएको बताएका छन् ।  “उनीहरूले यो पहिलेदेखि राख्दै आएको एजेन्डा हो । खुला व्यापार नीति अँगालेका कारण हामीले कानुनअनुसार कुनै पनि वस्तुको आयातमा रोक नभएको स्पष्ट पारेका हौँ,” वाणिज्य सचिव कार्कीले भने । आयात हुने वस्तुको गुणस्तरका हकमा अमेरिकी सरकारबाट प्राप्त प्रमाणपत्रलाई मान्यता दिने प्रतिवद्धता व्यक्त गरेको उनले बताए ।  “यसको गुणस्तरका लागि निर्यातकर्ता वा ती कम्पनीले अमेरिकी सरकारबाट पाएको प्रमाणपत्रलाई नेपालमा पनि मान्यता दिने प्रक्रिया अनुसार काम गर्छौं भनेका छौँ,” सचिव कार्कीले भने ।
नेपालमा खाद्य पदार्थको आयात गर्न चाहने खाद्य व्यवसायीले आयात गर्नुअघि स्वीकृति लिनुपर्छ ।  खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ ले खाद्य वस्तु आयात गर्दा खाद्य प्रविधि तथा गुण निण्न्त्रण विभाग वा विभागले तोकेको कार्यालयबाट स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ । तुलनात्मक रूपमा अन्य मुलुकभन्दा नेपाली बजार सानो भए पनि अमेरिकाले किन चासो देखाएको हो भन्ने अनुमान मात्र गर्न सकिने उनको भनाइ छ ।
बैठकमा सरकारी स्तरबाट विभिन्न क्षेत्रको व्यापार विस्तार एवं प्रवर्द्धनका कुरा दुवै पक्षले राख्ने भएका कारण सोही अनुसार यसलाई पनि हेर्न सकिने वाणिज्य सचिव कार्कीले बताए ।
मासुमा आत्मनिर्भर नेपाली बजारलाई असर पर्ला ?
नेपाल सरकारले त्यहाँको गुणस्तर प्रमाणपत्रलाई मान्यता दिएपछि ठूलो मात्रामा अमेरिकी मासु आयात हुने अवस्था बन्ने स्थिति नहुने सचिव कार्कीको भनाइ छ ।  “यो भयो भन्दैमा अब तत्काल आयात बढ्ने र हाम्रो बजार नै विस्थापित हुने भन्ने हुँदैन,” उनले भने ।  नेपालमा चीन, भारत, अष्ट्रेलिया, भियतनामलगायत देशबाट केही मात्रामा माछा र अन्य ‘फ्रोजन मिट’ आयात हुने गरेको छ ।  भन्सार विभागको तथ्यांक अनुसार, सुँगुर र कुखुराकै मासु किटान भएर भने खासै आयात भएको देखिँदैन ।
टिफाको बैठकले दुई देशबीचको व्यापारिक गतिविधि सहज बनाइदिने गरी काम गर्छ ।  यसै अनुसार, अमेरिकी पक्षले सुँगुर र कुखुराको मासु निर्यातका विषय पनि सामान्य रूपले राखेको देखिन्छ । तर, नेपाल मासुजन्य वस्तुमा आत्मनिर्भर भएका कारण यसलाई चासोको रूपमा हेरिएको हो ।
कति छ नेपाल–अमेरिकाबीचको व्यापार ?
भन्सार विभागका अनुसार, गएको आर्थिक वर्ष २०८०–०८१ मा अमेरिकासँग नेपालको व्यापार घाटा २ अर्ब १६ करोड ७८ लाख ६० हजार छ । गतवर्ष अमेरिकाबाट नेपालमा १९ अर्ब ४८ करोड २४ लाख २७ हजार रुपैयाँको सामग्री आयात भएको थियो ।  नेपालले १७ अर्ब ३१ करोड ४५ लाख ५६ हजार रुपैयाँ बराबरको सामान अमेरिकामा निर्यात गरेको थियो । अमेरिकाबाट नेपालमा सबैभन्दा धेरै आयात हुनेमा सोयबिन तथा कोइलाजन्य वस्तु, विमान तथा हेलिकोप्टरका पार्स्टसपुर्जा, कम्प्युटर सफ्टवयर प्रिन्टेड म्यानुअलगायत छन् ।
 नेपालले अमेरिकामा सबैभन्दा धेरै निर्यात गर्ने वस्तुमा भान्सा, शौचालयलगायतमा प्रयोग हुने ग्लास–सेरामिक, महिलाको ट्राउजर र ब्रिच, कुकर–बिरालोका खानेकुरा, मूर्ति र लुगाजन्य वस्तु छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 11

प्रतिक्रिया (०)

सम्बन्धित खबर