Aamsanchar

प्रवेश शुल्कको वास्तविकता नबुझी अफवाह फैलाउने काम गरेको आरोपमा आशिका तामाङलाई कारबाही गर्न उजुरी दर्ता

Author Image
बिहिवार, असोज १०, २०८१

भक्तपुर । सूर्यविनायक नगरपालिकाले वडा नं ९ र १० को सिमानास्थित झोलुङ्गे पुलमा अराजक गतिविधि गरेको आरोप लगाउँदै सामाजिक अभियन्ता आशिका तामाङलाई पक्राउगरी कारबाही गर्न माग गर्दै प्रहरीमा उजुरी दिएको छ।

आफूलाई सामाजिक अभियन्ता भन्दै सार्वजनिक सम्पत्तिमा हस्तक्षेप गर्ने, तोडफोड गर्ने, आगजनी गर्ने तामाङलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रहरीवृत्त जगातिमा जाहरी दिएको नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाले बताएका छन्।

नगरपालिकाले आज पत्रकार सम्मेलनगरी वडा नं ९ र १० को सिमानाबाट ओहोरदोहोर गर्नेगरी ३ वर्षदेखि सञ्चालन गरेको झोलुङ्गे पुल वारपार गरेवापत शुल्क असुलेको भन्दै यही असोज ७ गते अभियन्ता तामाङ नेतृत्वको टोलीले अस्थायी संरचना तोडफोड तथा आगजनी गरेको आरोपसमेत प्रवक्ता सापकोटाले लगाए।

“यू–ट्युबलाई कमाई खाने भाँडो बनाउने उद्देश्यले आफूलाई स्वघोषित सामाजिक अभियन्ता बताउने आशिका तामाङसहितको ६/७ जनाको टोलीले नगरपालिकाको सम्पत्तिमाथि चक्कु, कैँची, पेञ्चिस, घनलगायत घरायसी हतियारको प्रयोगगरी ब्यानर च्यात्ने, टिकट जलाउने र झोलुङ्गे पुलको संरचना तोडफोडगरी भत्काएको छ”, उनले आरोप लगाए, “त्यो ताण्डव सार्वजनिक सम्पत्तिमाथि गर्न पाइँदैन, वास्तविकता र ऐन, कानून नबुझी जनतालाई भ्रम फैलाएर तोडफोड गर्ने तामाङसहितको टोलीलाई तत्काल पक्राउगरी कारबाही गर्न नगरपालिकाले प्रहरीमा जाहेरी दिएको छ।”

पत्रकार सम्मेलनमा नगर प्रमुख वासुदेव थापाले वडा नं ९ बाट १० मा प्रवेश गर्ने पुल एकमात्र विकल्पको बाटो होइन, पैदल जान पनि सहज भएको दावी गरे। उनले त्यो झोलुङ्गे पुल पर्यटन प्रवर्द्धन गर्नकै लागि बनाइएकाले शुल्क लिएको जिकिरसमेत गरे।

“हामी नगरपालिकाको पर्यटन प्रवर्द्धनका लागि शिव सर्किट बनाउँदै छौँ, त्यो पुल त्यस क्षेत्रमा पर्यटक भित्र्याउन बनाइएको हो, स्थानीय पर्यटन प्रवर्द्धन गर्ने,’ उनले भने, ‘चलचित्र, म्युजिक भिडियो, टिकटकलगायत भिडियो निर्माण गर्ने उद्देश्यले नगरपालिकाले उक्त झोलुङ्गे पुल निर्माणगरी सञ्चालनमा ल्याएका हौँ।”

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले नगरपालिकाले कानूनसम्मत शुल्क लिएको दावी गरे। उनले भने, “सङ्घीय सरकारले बनाएको स्थानीय तह सञ्चालन ऐनमा व्यवस्था गरिएअनुसार पर्यटकीय क्षेत्रको शुल्क लिएका हौँ। पुल ऐच्छिक हो, मन्दिर पुग्न अर्को पुरानो बाटो छ।”

नगरपालिकाले आव ०७९/८० देखि साँगाको उक्त पुलबाट ओहोरदोहोर गर्दा २० रुपैयाँ शुल्क लिनेगरी ठेक्कामा लगाएको थियो।

नगरपालिकाले आव ०७९/८० मा ३४ लाख रुपैयाँमा र आव ०८०/८१ का लागि ३९ लाख रुपैयाँमा ठेक्का लगाएको प्रवक्ता सापकोटाले बताए। ठेक्काबाट उठ्ने रकममा नगरपालिकाले रकम थपेर त्यस क्षेत्रमा थप पर्यटकीय संरचना निर्माण गर्दै आएको उनको भनाइ छ।

नगर प्रमुख थापाले स्थानीय दुई वडाका बासिन्दालाई भने प्रवेश निःशुल्क गरिएको र सूर्यविनायकका बासिन्दाका लागि शुल्कमा ५० प्रतिशत छुट गरिएको बताए।

प्रवेश शुल्कको वास्तविकता के हो भन्ने नबुझी अफवाह फैलाउन आफूखुशी भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेको आरोप नगरपालिकाले लगाएको छ। नगरपालिकाले मंगलवार बसेको १७५औँ कार्यपालिकाको बैठकबाट निर्णयगरी जाहेरी दिएको जनाएको छ।

साभार : थाहा खबर

मुख्य श्रोत लिंक

आगजनी र तोडफोडमा यसरी उत्रिएकी थिइन ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 42

प्रतिक्रिया (०)

सम्बन्धित खबर