Aamsanchar

बलात्कार मुद्दामा फसाउने धम्की दिने इन्स्पेक्टरको जिम्मेवारी खोसियो

Author Image
बिहिवार, असोज १०, २०८१

काठमाडौँ – बलात्कारसम्बन्धी मुद्दामा फसाइदिने भन्दै एकजना व्यक्तिसँग लेनदेन गरेको आरोप लागेपछि प्रहरी प्रभाग, भैंसेपाटीकी प्रमुख इन्स्पेक्टर बिनुकुमारी शाहीको जिम्मेवारी खोसिएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख, एसएसपी शेखर खनालका अनुसार आर्थिक लेनदेनको सूचनाका आधारमा थप छानबिनका लागि शाहीलाई तत्कालका लागि जिम्मेवारीबाट हटाएको जानकारी दिए। उनले भने, ‘त्यस विषयमा छानबिन समिति पनि बनाएका छौँ, त्यसको प्रतिवेदनका आधारमा अन्य प्रक्रिया अघि बढ्छ।’

उपत्यका प्रहरी कार्यालयको निर्देशनअनुसार परिसरले डीएसपी नरहरि अधिकारीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति बनाएको छ। समितिले दिने प्रतिवेदनका आधारमा उनलाई कस्तो किसिमको कारबाही हुने टुंगो लाग्ने बताइएको छ। परिसरले यसअघि नै निलम्बनको सिफारिस गरिसकेको छ।

मोरङ घर भएका एक व्यापारीलाई भैंसेपाटी प्रभागको थुनामा राखी ३० लाख रुपैयाँ लेनदेन गरी छाडिएको प्रहरी स्रोतले बताएको छ। ३० लाखमध्ये २० लाख रुपैयाँ युवतीका साथीको खातामा जम्मा गरिएको बताइएको छ भने १० लाखको चेक उनलाई दिएपछि व्यापारी छुटेका बताइएको छ। उक्त कुरा बाहिर आएपछि ललितपुर प्रहरीले हनी ट्रयापिङमा संलग्न ती युवती र एक युवकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो। प्रभागमै बसेर लेनदेन गरिएको पनि खुल्न आएको छ।

शाही यसअघि जिप्रका कञ्चनपुरमा कार्यरत हुँदा कारबाहीमा परेकी थिइन्। पछिल्लोपटक उनी कञ्चनपुरमा हुँदा थुनुवामाथि ज्यादती गरेको लगायतका घटनामा विवादित बनेकी थिइन्।

त्यसपछि तत्कालीन एसपी कमल थापासहित उनीमाथि विभागीय अनुसन्धानसमेत भएको थियो। गत वर्ष वैशाखमा महेन्द्रनगरको सुकासाल चोकमा प्रहरी र भारतबाट क्यारिङमा सामान बोक्नेहरूबीच झडप भइरहेका वेला भिडिओ खिचिरहेको अवस्थामा पत्रकार राजेन्द्र नाथ र ऐश्वर्या कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

केही समयअघि कञ्चनपुरबाट प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग संघीय अपराध अनुसन्धान शाखा नक्साल काठमाडौँमा सरुवा भएको थियो। त्यहाँबाट पनि उनलाई ललितपुरस्थित महानगरीय प्रहरी प्रभाग भैंसेपाटीमा कमाण्ड दिएर काजमा खटाइएको थियो।

यो घटनामा संलग्न केहीलाई ललितपुर प्रहरीले नियन्त्रणमा लिइसकेको जानकारी दिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0
Views: 42

प्रतिक्रिया (०)

सम्बन्धित खबर