Aamsanchar

‘चिल्ड्रेन हस्पिटल’ को तेस्रो स्थापना दिवसमा उपलब्ध सेवा सुविधा बारे जानकारी

Author Image
बिहिवार, असोज १०, २०८१

अस्पतालका प्रबन्ध निर्देशक तथा बाल रोग विशेष डा. रूपक आचार्य ।

बिर्तामोड । झापामा विगत दुई वर्ष अघि सम्म बाल अस्पताल थिएन । जिल्लामा सुविधा सम्पन्न बाल अस्पताल  नहुँदा  बालबालिकाहरूलाई उपचार गर्न भारतको सिलिगुडी वा नेपालका ठूला शहरहरूमा पुर्‍याउनुपर्ने अवस्था थियो । त्यो अवस्थाका करण खासगरि पूर्वी नेपाल झापा, इलाम, पाँचथर र ताप्लेजुङका नागरिकहरूले बाल स्वास्थ्य उपचारको लागि समय सँगै धेरै आर्थिक खर्च गर्नु पर्दथ्यो । यसै बिचमा झापाको बिर्तामोड १ मा दुईवर्ष अघि झापाकै पहिलो बाल अस्पताल ‘चिल्ड्रेन हस्पिटल’ सञ्चालनमा आएपछि बालबालिकाहरूको स्वास्थ्य उपचारमा धेरै सरल र सहज भएको चिल्ड्रेन हस्पिटलको तेस्रो स्थापना दिवसका वक्ता हरुको भनाइ छ ।

आज बिर्तामोडमा आयोजित स्थापना दिवस समारोहमा हस्पिटल प्रशासनले उपलब्ध हुँदै आएको सेवा सुविधा बारे जानकारी गराइएको पनि छ ।
बालबालिकाको मात्रै उपचार गर्ने छुट्टै अस्पतालको रुपमा स्थापित हस्पिटल २०७९ असोज १० गतेबाट सुरु भएको थियो । १ भेन्टिलेटर, ४ एनआईसीयू, ५ पीआईसीयू र ५ नर्मल बेडसहित १५ वटा शैयासहित हस्पिटल सुरु भएको अस्पतालका प्रबन्ध निर्देशक तथा बाल रोग विशेष डा. रूपक आचार्यले बताए ।

‘बालबालिकाको उपचारका लागि छुट्टै अस्पतालको आवश्यकता पहिल्यैदेखि महसुस भएको थियो’, कार्यक्रममा उनले भने, ‘अस्पताल स्थापना भएपछिको हामीसँग भएको तथ्याङ्कले बाल अस्पताल कति आवश्यक छ भन्ने कुरा बताउँछ ।’ बितेको एक वर्षमा २ हजार ७५१ बालबालिकाले ओपीडी सेवा, १ हजार ७४ ले इमर्जेन्सी सेवा र २ हजार १७८ जनाले अस्पताल भर्ना भएर सेवा लिएको तथ्याङ्क उनले सुनाए । जसमध्ये एक जनालाई जटिल समस्याका कारण बचाउन नसकिएको र बाँकी ९९.९ प्रतिशत बालबालिकाले सफलतापूर्वक स्वास्थ्य लाभ लिएको डा. आचार्यले बताए ।

बालबालिकाहरूमा खासगरी मेनेन्जाइटिस, मुटुको बिरामी, दिमागमा अक्सिजनको कमी, बाथ रोग, मृगौला लगायतका जटिल रोगहरू देखिने गरेको अस्पतालले जनाएको छ । शल्यक्रियाबाहेकका सबै सेवा प्रदान गर्दै आएको अस्पतालले मुटुमा समस्या भएका बालबालिकाका लागि प्रत्येक बिहीबार विशेषज्ञ सेवाको व्यवस्था गरिएको डा. आचार्यले जानकारी गराए ।

अस्पतालकी प्रमुख डा. सुजता मैनाली आचार्यले स्वागत गरेको कार्यक्रमको अध्यक्षता लीला मैनालीले गरेकी थिइन् । अध्यक्ष मैनालीले आफूहरुले पूर्ण रुपमा सेवा भावले अस्पताल सञ्चालन गरेको बताउँदै सञ्चारमाध्यमहरुको साथ सहयोग रहने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी, बिर्तामोड १ नमूना टोल विकास संस्थाका अध्यक्ष विजयकुमार बुढाथोकी लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा अस्पतालका सुपर भाइजर राजेन्द्र मैनाली, फाउन्डर दीपक प्रसाद आचार्य, प्रेमा आचार्यको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण लेखक तथा पत्रकार लीला अनमोलले गरेकी थिइन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 14

प्रतिक्रिया (०)

सम्बन्धित खबर