Aamsanchar

५६ वर्ष यता सप्तकोशी नदीमा पानीको बहाव उच्च, पुल माथिबाट बग्न थाल्यो पानी

Author Image
शनिवार, असोज १२, २०८१

विराटनगर । सप्तकोशी नदीको बहाव इतिहासकै दोस्रो उच्च बिन्दुमा पुगेको छ । यसअघि कोशीमा सन १९६८ सालमा कोशीमा आजको भन्दा बढी पानी बगेको थियो । सो बेला ७ लाख ८८ हजार २ सय क्युसेक पानी कोशी बाराज हुँदै बगेको थियो ।

आज साँझ ५ बजे कोशीमा ५ लाख ५७ हजार ३० क्युसेक पानी कोशी बाराजमा मापन गरिएको छ । कोशी बाराज कन्ट्रोल रुमका अनुसार ५६ वर्ष यता सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको जनाको छ ।

अहिले केही पानी बाराज माथिबाट बगिरहेको छ । २०११ सालमा कोशी सम्झौता भएपछि भारत तर्फ पानी लैजानका लागि इन्टेक बनाउन बाराजको निर्माण भएको हो । बाराज पुरानो भएका कारण पटक पटक खतरा हुने चेतावनी दिइँदै आएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार पानी बाराज माथिबाट बगेको बताए ।

बाराज हुँदै पूर्व पश्चिम सडक खण्डमा सवारी साधन सञ्चालन हुने गर्छन् । पानीको बहाव उच्च भएका कारण दिउँसोबाट बाराजबाट आवतजावत बन्द गरिएको छ । अहिले बाराजका सबै ५६ वटै ढोका खुल्ला गरिएको छ ।

भारतको बिहार सरकार जल तथा संशाधन विभागले आज कोशीमा बाढीको बहाव प्रतिसेकेन्ड ६ लाख ८१ हजार ६ सय ३९ क्युसेक पुग्न सक्ने पूर्वानुमान गरेको छ । कोशी आसपास र तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । एसपी रेग्मीले ठाउँ ठाउँमा उद्धार टोली पनि परिचालन गरिएको जानकारी दिए ।

पहाडी जिल्लाहरूमा वर्षा नरोकिएका कारण बहाव अझै बढ्न सक्ने अनुमान छ । २ दिनयताको अविरल वर्षाका कारण सप्तकोशीसहित पूर्वका विभिन्न खोला तथा नदीहरुको बहाव अत्यधिक बढेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 57

प्रतिक्रिया (०)

सम्बन्धित खबर