Aamsanchar

बाढीका कारण गुरुकुलमा थुनिएका ३३ जनाको सेनाको हेलिकप्टरबाट उद्धार

Author Image
शनिवार, असोज १२, २०८१

सिन्धुली – बाढीका कारण थुनिएका सुनकोशी गाउँपालिका–१ आदिलिङ्ग कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको गुरुकुलका ३३ जनाको उद्धार गरिएको छ । उनीहरुको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

सुनकोशी नदीको बीच भागमा अलपत्र परेका गुरुकुलका २६ बटुक (विद्यार्थी), तीन शिक्षक, दुई कर्मचारी र मन्दिरका दुई पुजारीको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो । उनीहरु हिजो रातिदेखि सुनकोशीको बाढीमा फसेका थिए ।

सुनकोशी नदीको बाढी र रोशी खोलाको बाढी मन्दिर रहेको क्षेत्रमा पसेपछि उनीहरु बीच भागमा थुनिएका थिए । मन्दिरको चारैतिर बाढी पसेपछि सुरक्षित स्थानमा जान नसकेका गुरुकुलका सबैजनाको सकुशल उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद शर्माले बताउनुभयो ।

मन्दिर परिसरमा थुनिएकाहरुलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले हिजोदेखि नै प्रयास गरेको उहाँले बताउनुभयो । उनीहरुले उद्धार गर्न नसकेपछि काठमाण्डौबाट नेपाली सेनाको हेलिकप्टर मगाउनुपरेको प्रजिअ शर्माले बताउनुभयो ।

रोशी र सुनकोशी नदीको बाढीले सुनकोशी–५ मुल्कोट र गोलञ्जोर गाउँपालिका–७ खुर्कोट बजार समेत डुबानमा परेका छन् । दुम्जाका पाँच घर बाढीले बगाएको छ । दुम्जा र नेपालथोक बीचको बिपी राजमार्गको केही भाग बाढीले बगाएको छ । अहिले सो क्षेत्रमा यातायात सेवा बन्द छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 25

प्रतिक्रिया (०)

सम्बन्धित खबर