Aamsanchar

इलामको माई नदीमा आएको बाढीले ४ वटा विद्युत् टावरमा क्षति

Author Image
आइतवार, असोज १३, २०८१

झापा  – इलामको माई नदीमा आएको बाढीले काबेली करिडोर १३२ केभी प्रसारण लाइनका ४ वटा टावरमा क्षति पुर्‍याएको छ ।

बाढीले प्रसारण लाइनमा क्षति पुर्‍याएपछि ताप्लेजुङ, पाँचथर र इलाममा सञ्चालनमा रहेका आयोजनाहरूको झन्डै १८५ मेगावाट बिजुली उत्पादन बन्द भएको छ । टावरमा क्षति पुग्नुभन्दा अगाडि यो लाइनबाट दैनिक १८५ मेगावाटसम्म विद्युत् प्रवाह भइरहेको थियो ।

काबेली करिडोर प्रसारण लाइनअन्तर्गत इलामको गोदकबाट झापाको दमकसम्मको खण्डमा पर्ने ५०, ५१, ५२ र ५३ नम्बर टावरलाई माई नदीको बाढीले क्षति पुर्‍याएको छ । यो ठाउँबाट प्रसारण लाइनलाई माई नदी पार गराइएको थियो । यो ठाउँमा प्रसारण लाइनको स्पान साढे सात सय मिटर रहेको छ ।

नेपाल विद्युत् प्राधिकरणको दुहवी ग्रीड महाशाखाको टोलीले यो ठाउँको निरीक्षण गरी क्षतिको जानकारी लिएको छ । महाशाखाका प्रमुख रोशन खड्काले बाढीले नदीमा रहेको ५१ नम्बर टावरलाई पहिले हानेको र त्यो टावर ढलेपछि तार तानिएर ५०, ५२ तथा ५३ नम्बर टावरलाई क्षति पुगेको बताउनुभयो ।

प्रमुख खड्काले काठमाण्डौबाट सिभिल इन्जिनियर तथा भूगर्भविद् सम्मिलित विज्ञ समूह तथा पाँचथरमा रहेको सर्भे टोली भोलिसम्ममा फिल्डमा पुग्ने र अवलोकनपछि प्रसारण लाइन पुनर्निर्माणका लागि आवश्यक सुझाव दिने बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 17

प्रतिक्रिया (०)

सम्बन्धित खबर