Aamsanchar

देशभर पानी परीक्षणका लागि प्राविधिक टोली खटाउन मन्त्री यादवकाे निर्देशन

Author Image
मङ्गलवार, असोज १५, २०८१

काठमाण्डौ – बाढी,पहिरो र डुबानका कारण पानीबाट विभिन्न महामारीजन्य रोग फैलिन सक्ने भएकाले देशभर पानी परीक्षणका लागि प्राविधिक टोली खटाउन खानेपानी मन्त्री प्रदीप यादवले निर्देशन दिनुभएको छ ।

बाढीपहिरोले खानेपानीका मुहानमा बाढी एवम् ढल पसेकाले पानीबाट विभिन्न रोग फैलन सक्नेतर्फ ध्यान दिँदै पानी परीक्षणका लागि प्राविधिक टोली खटाउन मातहतका निकायलाई मन्त्री यादवले निर्देशन दिनुभएको हो ।

उहाँले बाढीका कारण देशभर पानीका मुहानमा क्षति हुनुका साथै मुहानमा धमिलो पानी छिरेकाले पानी शुद्धीकरणका लागि आवश्यक ‘ब्लिचिङ पाउडर’, पीयूष, ‘एक्वा ट्याब’ वितरण गर्न निर्देशन दिनुभएको मन्त्री यादवको निजी सचिव भक्तराज जोशीले जानकारी दिनुभयो ।

मन्त्री यादवको निर्देशनमा खानेपानी तथा ढल व्यवस्थापन विभाग गुणस्तर सुधार तथा सेवा नियमन शाखाको समन्वय र सहजीकरणमा काठमाण्डौका विभिन्न ठाउँमा ब्लिचिङ पाउडर, पियूष, एक्वा ट्याब वितरण थालिएको खानेपानी गुणस्तर सुधार तथा सेवा नियमन शाखाका प्रमुख पूर्णप्रसाद उपाध्यायले बताउनुभयो ।

सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रको मन्त्री यादवले अनुगमन तथा निरीक्षण गरी पानीको धमिलोपन कम भएपछि प्रशोधन प्रक्रिया पुनः सञ्चालन गरी काठमाण्डौका पानी ट्याङ्कीमा खानेपानी आपूर्ति गर्न निर्देशन दिनुभयो ।

सुन्दरीजलको पानी प्रशोधन केन्द्रमा बाग्मती नदीको पानीमा बढेको धमिलोपनका कारण प्रशोधन प्रक्रिया अवरुद्ध भएको थियो । बाढीले गर्दा कीर्तिपुरको सुन्दरीघाट ‘इलेक्ट्रोमेकानिकल’ शाखामा रहेका महत्त्वपूर्ण उपकरण डुबेर क्षति पुगेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 10

प्रतिक्रिया (०)