उर्लाबारी-रेसा निकाल्न खाडीमा गाडेको सनपाट धुन नपाउँदा किसानले घाटा बेहोर्नुपर्ने भएको छ । रेसा निकाल्नयोग्य भएका बेला बुधबार साँझदेखि लगातार पानी परेपछि किसानलाई सनपाट खाडीमै कुहिएला कि भन्ने चिन्ता छ । सनपाट खेतीमा आधुनिक प्रविधि नभित्रिँदा किसानले सास्ती खेप्नु परिरहेको हो । मोरङमा पछिल्लो पाँच वर्षयता सनपाट खेती हुने क्षेत्रफल बढे पनि उत्पादन खासै सन्तोषजनक छैन । गत वर्ष मोरङमा थप ११५ हेक्टर क्षेत्रफलमा जुट खेती भयो तर उत्पादन भने २२ मेट्रिक टन मात्र बढ्यो ।
मोरङको सुनबर्सी–८, डाइनियाका विश्वेश्वर सिंहले भन्नुभयो, “चाडबाडको मुखमा किसानलाई पैसाको अभाव हुन्छ । जब किसानले कम मूल्यमा बिक्री गर्छन् अनि मूल्य बढाइन्छ । यो वर्ष दसैँ अलि अघि आए पनि लगातार पानी परेपछि खाडीबाट निकाल्न नै समस्या भइरहेको छ ।” सुनबर्सी–८ कै अर्का किसान मोहम्मद अक्रमले भन्नुभयो, “यो वर्ष अलि ढिलो गरी पानी परेकाले बाली लगाउन पनि ढिलो भयो । अहिले सानो परिमाणमा लगाउनेले सनपाट निकालिसके । धेरै लगाउनेको खाडीमै छ ।”
गत वर्ष सनपाटको मूल्य चार हजार आठ सय रुपियाँसम्म पुग्यो । मूल्य आउने आसले दक्षिणी मोरङका किसान सनपाट (जुट) खेतीमा आकर्षित भए । कृषि ज्ञान केन्द्र मोरङका प्रमुख रामदेव सिंहका अनुसार मोरङमा आर्थिक वर्ष २०८०/८१ मा पाँच हजार २२५ हेक्टर जमिनमा जुट खेती भयो । गत वर्ष सात हजार ४३१ मेट्रिक टन जुट उत्पादन भयो । आव २०७९/८० मा पाँच हजार ११० हेक्टरमा खेती भएको थियो भने सात हजार ४०९ मेट्रिक टन जुट उत्पादन भएको थियो । हरेक वर्ष क्षेत्रफल बढे पनि उत्पादन सन्तोषजनक रूपमा बढ्न नसकेको ज्ञान केन्द्रका प्रमुख सिंहको भनाइ छ । तथ्याङ्क अनुसार २०७८/७९ मा पाँच हजार ७० हेक्टर क्षेत्रफलमा जुट खेती भएको थियो ।
जुट खेती प्रवर्धन तथा उत्पादन कार्यक्रम अन्तर्गत १० कट्ठाभन्दा बढी क्षेत्रफलमा खेती गर्ने किसानलाई ७५ प्रतिशत अनुदानमा मल, बिउ, सिँचाइ उपकरण उपलब्ध गराएपछि किसान जुटखेतीतर्फ आकर्षित भए तर जुट तुल्याउने प्रविधि परम्परागत भएकाले जुट खेतीमा लगानी धेरै हुने गरेको छ । पुराना जुट उद्योग सञ्चालनमा आउने क्रम बढेसँगै जुटको माग पनि बढेको छ । गत वर्ष किसानले सरकारले खाडी खन्नबाहेक मल र बिउमा अनुदान नदिएको गुनासो गरेपछि सरकारले अनुदानको रकमलाई उपकरण र मल बिउमा बदल्यो । किसान खुसी भए तर मौसमी प्रतिकूलताले यो वर्ष पनि किसानले सन्तोष गर्न भने सकेनन् । सुनबर्सी–८ का वडाध्यक्ष अनवर मियाले भन्नुभयो, “लगातार पानी परेपछि किसानले सनपाट निकाल्न पाएका छैनन् ।” सुनबर्सी–८ का सीताराम सहनीका अनुसार दाउराको अभाव छ, त्यसैले किसान पाँच/छ कट्ठामा सुन्डीका लागि जुट खेती गरिरहेका छन् ।
प्रविधि र कामदारको अभाव हुँदै जाँदा सनपाटको माग उच्च भए पनि किसानमा खेतीप्रति उत्साह छैन । सुनबर्सी–१ का श्यामकुमार मण्डलले भन्नुभयो, “किसानले बिक्री गरेपछि मूल्य बढ्छ । गत वर्ष ३० मन जुट बिक्री गर्नुभएका मण्डलले भन्नुभयो, “१० कट्ठामा ३५ हजार रुपियाँ खर्चेर खेती लगाएँ । गत वर्ष प्रतिमन तीन हजार छ सय रुपियाँमा बिक्री गर्नु पर्यो । २१ दिन भण्डारण गर्न नसक्दा २१ हजार रुपियाँ गुमाउनु पर्यो ।”
कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालय विराटनगरका प्रमुख रामदेव सिंहका अनुसार जुट अनुसन्धान कार्यालयले नयाँ प्रविधि भित्र्याए पनि त्यो सफल भएन । पानी जम्ने खाडीमा भन्दा दैनिक पानी हालेर पानीको निकास दिन सकिने खाडीमा कुहाएको जुट राम्रो हुन्छ तर हामीकहाँ सनपाट कुहाउने खाडी परम्परागत रूपमै चलिआएका छन् ।