Aamsanchar

हेवाखोलामा ह्युम पाइप राखेर डाइभर्सन गर्न एक हप्ता लाग्ने

Author Image
मङ्गलवार, असोज १५, २०८१

ताप्लेजुङ – बाढीले पुल बगाएपछि अवरुद्ध मेची राजमार्गको हेवाखोलामा ह्युम पाइप राखेर डाइभर्सन गर्न कम्तीमा एक हप्ता लाग्ने सडक डिभिजन कार्यालय इलामले जनाएको छ ।

इलाम देखिको पहिरो पन्छाउँदै पाँचथरको हेवाखोला पुगेका सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले खोलामा अझै पनि पानीको मात्रा ठूलो रहेको र ह्युम पाइपलगायतका सामग्री झापाबाट ल्याउनुपर्ने भएकाले समय लाग्ने बताएका हुन् ।

‘इलामको माइखोला छेउमा सडक बिग्रिएको छ त्यहाँ पनि बनाइरहेका छौं,’ भट्टराईले भने, ‘पाँचथरको रमितेलगायतका स्थानमा पूरै सडक भत्किएकाले ट्य्राक खोलेर सामान्य यातायात चल्ने मात्रै बनाउन सकिएको छ, अब लोड गाडी ल्याउनेगरी सडक पनि बनाउनुपर्ने र सामान पनि ल्याउनु पर्दा समय लाग्छ ।’
भट्टराईले आफू फिदिममै बसेर काम गर्ने र दसैंअगाडि नै ठूला सवारी पनि चल्ने बनाउने प्रतिबद्धता जनाएका छन् । हेवाखोलाको पुल बगेपछि ताप्लेजुङ र पाँचथरका याङवरक र हिलिहाङ गाउँपालिका सडक सम्पर्कबाट विच्छेद भएको छ । कतिपयले त्यहँसम्म गाडीमा गएर पैदल हिँड्ने गरेका छन् भने कतिपय ताप्लेजुङकै मैवाखोलाको साँघु, बसन्तपुर हुँदै धरानतर्फ आउजाउ गरेका छन् ।

ताप्लेजुङमा आवतजावत ठप्प भएपछि कोशी प्रदेश सांसद तिलकुमार मेन्याङवो, जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामा, फुङलिङ नगरपालिका उपप्रमुख भिमादेवी ओझा, प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य, उद्योग वाणिज्य संघका अध्यक्ष नारान थापा र महासचिव कमल लिम्बूलगायतको टोली हेवाखोला पुगेका थिए ।

टोलीले पाँचथरको फिदिम नगरपालिका प्रमुख मित्रप्रसाद काफ्ले, प्रमुख जिल्ला अधिकारी, सडक डिभिजन कार्यालय इलामका प्रमुखलगायतका व्यक्तिसँग भेट गरेर सडक खुलाउने विषयमा छलफल र अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 14

प्रतिक्रिया (०)

सम्बन्धित खबर