Aamsanchar

तीन सय जनाभन्दा बढीमा एचआइभी सङ्क्रमण देखियो

Author Image
बुधवार, असोज १६, २०८१

गुल्मी- गुल्मीमा तीन सय जनाभन्दा बढीमा एचआइभी सङ्क्रमण देखिएको छ । दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह रहेको यस जिल्लामा ३४७ जनामा एचआइभी सङ्क्रमित रहेको गुल्मी अस्पताल तम्घासको तथ्याङ्कमा उल्लेख छ ।

भदौ मसान्तसम्म यस जिल्लाका सङ्क्रमितरुमध्ये २०४ जनाले गुल्मी अस्पताल अन्तर्गत रहेको एचआइभी तथा एड्स एन्टी रेट्रोभाइरल थेरापी (एआरटी) सेन्टरबाट एचआइभी प्रतिरोधात्मक औषधी सेवन गर्नुभएको एआरटी फोकल पर्सन पुष्कर घिमिरे जानकारी दिनुभयो ।

गुल्मी अस्पतालको तथ्याङ्क अनुसार यस जिल्लाको मुसिकोट नगरपालिका, रुरुक्षेत्र गाउँपालिका र सत्यवती गाउँपालिकामा सबैभन्दा बढी सङ्क्रमित छन् । मुसिकोट नगरपालिकामा ४१ जना सङ्क्रमितमध्ये २५ जनाले एआरटी सेन्टरबाट सेवा लिनुभएको छ । रुरुक्षेत्र गाउँपालिकामा सङ्क्रमित ४१ जनामध्ये २६ जनाले एआरटी सेन्टरबाट सेवा लिनुभएको हो । सत्यवती गाउँपालिकामा ४१ जना सङ्क्रमितमध्ये एआरटी सेन्टरबाट २१ जनाले सेवा लिनुभएको तथ्याङ्कमा उल्लेख रहेको पाइएको छ । सबैभन्दा कम पाँच जना कालिगण्डकी गाउँपालिकामा सङ्क्रमितमध्ये दुई जनाले एआरटी सेन्टरबाट सेवा लिनुभएको छ ।

रेसुङ्गा नगरपालिकामा ३२ जना सङ्क्रमितमध्ये १९ जनाले एआरटी सेन्टरबाट सेवा लिनुभएको तथ्याङ्कमा उल्लेख छ । गुल्मीदरबार गाउँपालिकामा २१ जना सङ्क्रमितमध्ये १६ जनाले एआरटी सेन्टरबाट सेवा लिनुभएको छ । छत्रकोट गाउँपालिकामा ३५ जना सङ्क्रमितमध्ये २२ जनाले एआरटी सेन्टरबाट सेवा लिनुभएको पाइएको छ । मदाने गाउँपालिकामा १८ जना सङ्क्रमितमध्ये ११ जनाले एआरटी सेन्टरबाट सेवा लिनुभएको तथ्याङ्कमा उल्लेख छ । चन्द्रकोट गाउँपालिकामा २४ जना सङ्क्रमितमध्ये ११ जनाले एआरटी सेन्टरबाट सेवा लिनुभएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

इस्मा गाउँपालिकामा २२ जना सङ्क्रमितमध्ये १४ जनाले एआरटी सेन्टरबाट सेवा लिनुभएको छ । धुर्कोट गाउँपालिकामा २५ जना सङ्क्रमितमध्ये १६ जनाले एआरटी सेन्टरबाट सेवा लिनुभएको छ । मालिका गाउँपालिकामा १९ जना सङ्क्रमितमध्ये ८ जनाले एआरटी सेन्टरबाट सेवा लिनुभएको छ । अन्य विभिन्न स्थानका २३ जना सङ्क्रमितमध्ये १३ जनाले गुल्मी अस्पतालअन्तर्गत रहेको एआरटी सेन्टरबाट सेवा लिनुभएको पाइएको छ । यहाँ विशेषगरी आप्रवासी वा रोजगारीका लागि विदेशिनेहरुबाट र तीनका जीवनसाथी, जेलकैदी बन्दी, आमाबाट बच्चालगायतमा एचआइभी सङ्क्रमण फेला परेको छ । यस जिल्लामा सामुदायिक हेरचाह केन्द्र र घर समुदायमा आधारित कार्यक्रमअन्तर्गत एचआइभीको जोखिम समूहलाई एचआइभी परीक्षण गरिँदै आइएको छ ।

अहिले औषधीले काम गरेको नगरेको हेर्नका लागि गुल्मी अस्पतालमा भाइरल लोड परीक्षण सेवा सञ्चालनमा ल्याइएको छ । यहाँ आर्थिक वर्ष २०७९/०८० मा १८२ जनाले परीक्षण गराउनुभयो । आर्थिक वर्ष २०८०/०८१ मा १३४ जनालाई परीक्षण गर्दा १३३ जनामा भाइरल लोड सप्रेषण रहेको अर्थात औषधीले काम गरिरहेको उहाँले बताउनुभयो ।

आव २०७८/०७९ मा २० जना, आव २०७९/०८० मा १५ जना र आ।व २०८०/०८१ मा १३ जनामा नयाँ सङ्क्रमित पत्ता लगाइएको तथ्याङ्कमा उल्लेख छ । अस्पतालमा एचआइभी परीक्षण र परामर्श सेवा, एन्टिरेट्रोभाइरल थेरापी, एसटीआइ परीक्षण र उपचार सेवा, टिबी स्क्रिनिङ र जीनएक्पट जाँच सेवा, अवसरवादी सङ्क्रमणको उपचार, भाइरल लोड लगायतका सेवा यहाँबाट दिइने बताइएको छ ।

यहाँ राष्ट्रिय ग्रामीण तथा सामुदायिक विकास केन्द्र ९नार्डेक० नेपाल, हाम्रो जीवन प्लस र इपिक नेपालले एचआइभी परीक्षण गर्दै आएका छन् भने सङ्क्रमित हो होइन भनी गुल्मी अस्पतालले प्रमाणित गर्ने एआरटी सेन्टरका फोकल पर्सन घिमिरे बताउनुभयो । नियमित औषधिको सेवनले रोग प्रतिरोधात्मक शक्ति वृद्धि भई अवसरवादी सङ्क्रमणबाट जोगाउनुका साथै शरीरमा भाइरलको सङ्ख्या नगण्य भएको अवस्थामा एचआइभी अरुमा नसर्ने अवस्थामा पुग्ने र मृत्युदर कम गर्ने एन्टीरेट्रो भाइरल थेरापीले सहयोग गर्ने उहाँको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 52

प्रतिक्रिया (०)