Aamsanchar

बडादशैँको पहिलो दिन आज घटस्थापना

Author Image
बिहिवार, असोज १७, २०८१

बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ ।

यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ ।

जमरामा जौबाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद्हरु बताउछन् । कूल परम्पराअनुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधिका रूपमा समेत प्रयोग गरिन्छ ।

कति बेला छ घटस्थापनाको शुभ साइत ?

बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

नवरात्रको पहिलो दिन घटस्थापना गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार बिहान ९ः१६ बजे घटस्थापना गर्ने साइत रहेको छ ।

असोज २६ गते विजयादशमीका दिन बिहान ८ः३३ बजे देवी विसर्जनको साइत रहेको छ । देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः३६ बजेको साइत दिइएको समितिले जनाएको छ ।

दशैँको टीका साइत
बडा दशैँको टीकाको साइत असोज २६ गते ११ बजेर ३६ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैँको टीकाको साइत आज सार्वजनिक गर्दै टीकाको साइत असोज २६ गते ११ बजेर ३६ मिनेटमा रहेको जानकारी दिएको हो ।

समितिका अनुसार असोज २४ गते फूलपातीका दिन तुलजाभवानी यात्रा विहान ७ बजेर ११ मिनेटमा तथा स्थिरासन ८ बजेर ४३ मिनेटमा तोकिएको छ । त्यसैगरी असोज २५ गते शुक्रवार अष्टमी र नवमी एकै दिन परेको समितिले जानकारी दिएको छ ।

साथै समितिले सामान्यतया देवीको प्रसाद लगाउन साइतको आवश्यकता नपर्ने समेत स्पष्ट गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 74

प्रतिक्रिया (०)