Aamsanchar

विराटनगर आईसीपी परिसर तनावपूर्ण, प्रहरीद्वारा १० शेल अश्रुग्यास प्रहार

Author Image
शुक्रवार, असोज १८, २०८१

विराटनगर – विराटनगर महानगरपालिका–१८ स्थित विराटनगर भन्सार कार्यालय (आईसीपी) परिसर तनावपूर्ण बनेको छ । भन्सार कार्यालय जाने सडकमा दुर्घटना भएर साइकलयात्रीको मृत्यु भएको विषयलाई लिएर स्थानीय आन्दोलित बनेपछि अवस्था तनावग्रस्त भएको हो ।

 

आक्रोशित भिडले भन्सार कार्यालयलाई लक्षित गरेर शुक्रबार बिहान ढुंगामुढा गरेको छ । भन्सार कार्यालय तोडफोडको प्रयास भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले १० शेल अश्रुग्यास प्रहार गरेर स्थितिलाई नियन्त्रणमा लिइएको बताए ।

उनका अनुसार विराटनगर–१८ स्थित आईसीपी रोडमा ट्रकको ठक्करबाट बिहीबार साँझ १ जना साइकलयात्रीको मृत्यु भएको थियो । ट्रकको ठक्करबाट विराटनगर–१८ लवाघाटका ६० वर्षीय श्याम साहको मृत्यु भएको हो । विराटनगरबाट आईसीपीतर्फ जाँदै गरेको ना ४ ख २४८३ नम्बरको ट्रकले सोही दिशातर्फ साइकलमा जाँदै गरेका साहलाई साँझ पौने ७ बजेतिर ठक्कर दिएको थियो ।

 

गम्भीर घाइते उनलाई इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर प्रकाश थापा नेतृत्वको टोलीले उपचारका लागि विराट नर्सिङ होम पठायो । अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरिदिए । ट्रकको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि ट्रक र चालक सुनसरीको बर्जु गाउँपालिका–५ का ३० दीपक यादवलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

ट्रक चालकको लापरवाहीले दुर्घटना भएको भन्दै आफन्तले शव बुझ्न मानिरहेका छैनन् । दुर्घटनापछि बिहीबार साँझ विराट नर्सिङ होसमा समेत तनाव भएको थियो । आक्रोसित भिडले अस्पतालमा तोडफोडको प्रयास गर्दै सुरक्षा गार्ड र कर्मचारीमाथि दुव्र्यवहारसमेत गरेको प्रहरीले जनाएको छ ।

स्थानीयले भने सुरुमा अस्पतालका सुरक्षा गार्डले कुटपिट गरेको बताएका छन् । अहिले पनि मृतकको शव अस्पतालमै छ । परिवारका सदस्य र आफन्तले बुझ्न अस्वीकार गरेका छन् । आईसीपी रोडमा सवारी दुर्घटना धेरै भइरहेको भन्दै विरोधमा स्थानीय आन्दोलित बनेका छन् । सडक साँघुरो हुँदा दुर्घटना बढेको भन्दै करिब ५ सयको संख्यामा भेला भएका स्थानीयले सडकको स्तरोन्नति हुनुपर्ने, मालवाहक सवारीसाधनको गति सीमित गर्नुपर्ने, सडकमा रात्रिकालीन बत्तीको व्यवस्था हुनुपर्ने लगायतका माग राखेर आन्दोलन गरेका थिए ।

त्यस क्रममा आक्रोशित भीडले भन्सार कार्यालयलाई लक्षित गरेर ढुंगामुढा गरेको डीएसपी जोशीले बताए । उनका अनुसार ढुंगामुढाबाट भन्सारको गेट र भवनमा क्षति पुगेको छ । कार्यालय भवनको शिशाहरु फुटेका छन् ।

भीड रोक्ने क्रममा ढुंगामुढा हुँदा असइ (प्रहरी सहायक निरीक्षक)सहित ४ जना प्रहरीले सामान्य घाइते भएको जानकारी जोशीले दिए । भीड थप आक्रोशित बनेर अनियन्त्रित हुँदै गएपछि नियन्त्रणमा लिन अश्रुग्यास र लाट्ठी प्रहारसमेत गर्नु परेको उनको भनाइ छ । तर, आन्दोलनकारीतर्फ कोही पनि घाइते भएको जानकारी छैन ।

उनका अनुसार अश्रुग्यास प्रहारपछि भीड तितरवितर भएको छ । अहिले भन्सार परिसरको अवस्था सामान्य रहेको र वार्ता एवं छलफलका माध्यमबाट समस्या समाधानको प्रयास भइरहेको डीएसपी जोशी बताउँछन् ।

विराटनगर–१८ का वडाध्यक्ष जितेन्द्रकुमार साहले पीडितले न्यायको माग गरेको बताए ।
सडक व्यवस्थित बनाउन माग गर्दै स्थानीयले सुरु गरेको आन्दोलनमा घुसपैठ भएको उनको भनाइ छ । ‘पीडितले न्याय चाहियो भनिरहेका छन् । स्थानीयले सडक व्यवस्थित बनाउनुपर्ने माग राखेर आन्दोलन गरे,’ साहले भने, ‘तर, शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भयो ।

घुसपैठका कारण भिड आक्रोशित भएर तोडफोडमा उत्रियो ।’ उनका अनुसार विराटनगर भन्सार आसपासको क्षेत्र केहीबेर तनावग्रस्त भएको थियो । समस्या समाधानका लागि वार्ताको पहल भइरहेको जानकारी उनले दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 62

प्रतिक्रिया (०)

सम्बन्धित खबर