Aamsanchar

तातोपानी नाका ह्युमपाइपले जोडियो

Author Image
सोमवार, असोज २१, २०८१

सिन्धुपाल्चोक – गएको साता अविरल वर्षासँगैको बाढीपहिरोले अरनिको राजमार्गका विभिन्न पुल क्षतविक्षत भएपछि सडक सञ्जाल विमुख बनेको तातोपानी नाका ह्युमपाइपले जोडिएको छ । गएको शनिबार साँझ ५ बजे ह्युमपाइप राखेर सडक सञ्चालनमा ल्याइएको भोटेकोसी गाउँपालिकाका अध्यक्ष पासाङनुर्पु शेर्पाले जानकारी दिए । उनका अनुसार, भोटेकोसी गाउँपालिका–२, लार्चामा ह्युमपाइप राखेर साना सवारीसाधन आवतजावत गराइएको छ । ठूला सवारी भने तत्काल सञ्चालन गर्न सकिएको छैन ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतका अनुसार, ह्युमपाइप राखिएसँगै तातोपानीमा रोकिएका सयौँ साना सवारीसाधन ‘पास’ गराइएको छ । लार्चामा ह्युमपाइप राखेर सवारीसाधन सञ्चालन गरिए पनि कोदारीको पहिरो र लिपिङखोलामाथि पुल राख्न अझै बाँकी रहेको उनले बताए । लार्चामा ह्युमपाइप निकै गहिरो स्थानमा राखिएकाले ठूला सवारी आवतजावत गराउन कठिनाइ भएको भोटेकोसी गाउँपालिका–३ का वडाध्यक्ष निमासोना शेर्पाको भनाइ छ ।

भोटेकोसीको बाढीले बगाएको लार्चा पुल भएको स्थानमा मानव आवतजावतका निम्ति तुइन समेत राखिएको छ । लार्चामा रहेको बेलिब्रिज बगाएपछि सीमाक्षेत्र लिपिङका स्थानीय सडक सम्पर्कविहीन भएका थिए । पुल बगाएपछि ठप्प बनेको तातोपानी नाका लार्चामा तुइन बनाइएपछि स्थानीयलाई आवातजावत गर्न सहज भएको थियो । तुइन असुरक्षित हुने भएपछि सोही ठाउँमा फड्के राखिएको थियो ।

तातोपानी नाका अवरुद्ध हुँदा दसैँका निम्ति चीनबाट फलफूल र लत्ताकपडा बोकेर आएका करिब ९०० भन्दा बढी कन्टेनरका सामान चीन र नेपालको भू–भागमा अलपत्र परेको नेपाल ट्रक कन्टेनर मजदुर संघका अध्यक्ष अर्जुन सापकोटाले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 63

प्रतिक्रिया (०)

सम्बन्धित खबर