काभ्रेपलाञ्चोक – गएको हप्ता अविरल वर्षाका कारण ग्रामीण सडकसमेत अवरुद्ध भएपछि स्थानीयलाई खाद्यान्नलगायत सामग्री पठाउन काभ्रेको पनौती नगरपालिकाको १२ नम्बर वडाको एउटा गाउँमा ड्रोनको प्रयोग गरिएको छ । हिजोदेखि हामी टिम नेपाल नामक संस्थाले एयरलिफ्ट टेक्नोलोजीको सहकार्यमा मगरगाउँमा चामललगायत खाद्यान्न सामग्री पठाउन थालेको हो ।
हिजोदेखि पहिला परीक्षण गरी मगरगाउँमा केही मात्रामा चामल र सामग्री पठाइएको टिम नेपालका स्वयंसेवक परीक्षण हुमागाईँले बताउनुभयो । आज पनि त्यस गाउँका लागि तयारी गरिएको सामग्री पठाइने उहाँले बताउनु भयो । भौगोलिक विकटता एवम् ग्रामीण सडक अवरुद्ध भएपछि त्यस गाउँका ८५ परिवारका लागि संस्थाले ड्रोनको सहयता लिएको हो ।
बाढीपहिरोबाट पीडित त्यस गाउँका ८५ परिवारमा खाद्यान्नलगायत राहत सामग्री आवश्यक छ भन्ने खबर पाएपछि सडक नबन्दासम्म ड्रोनमार्फत पठाइने उपाय निकालिएको हुमागाईँले बताउनुभयो । उहाँका अनुसार त्यस गाउँमा खाद्यान्न, बिजुली तथा पोषणको समस्या देखिएको छ ।
आज पनि ड्रोनमार्फत चामल, सोलार बत्ती, नुन, तेल, मसला, सेनेटरी प्याड, बालबालिकाका लागि ल्याक्टोजिनलगायतको राहत सामग्री पठाइन छ । पनौती बजारबाट उक्त गाउँ पुग्ने सडक क्षतिग्रस्त भएकाले १२ नम्बर वडाको भूमिडाँडाबाट ड्रोन उडाइ सामग्री पठाउन थालिएको हो ।
सामाजिक अभियन्तासमेत रहेका हुमागाईँका अनुसार ड्रोनमार्फत एकपटकमा ६५ किलोग्रामसम्म खाद्यान्न सामग्री ढुवानी गर्न सकिनेछ । ‘हावाको बहाव सामान्य रहे ६५ केजीसम्म राहत पठाउन सकिन्छ, नभए एकपटकमा २० किलोका दरले भए पनि राहत पठाउनेछौ ।’, उहाँले भन्नुभयो । उहाँले हिजो कानुनी प्रक्रिया पूरा गर्ने क्रममा सामग्री पठाउन ढिलो भएको बताउँदै आज ड्रोनमार्फत सामग्री पठाइने बताउनुभयो ।
संस्थाले अन्यत्र यस्तै अवस्थाको खबर आएकाले त्यस्ता स्थानमा प्राथमिकताका आधारमा ड्रोनमार्फत नै खाद्यान्न सामग्री पठाउने योजना बनाएको छ । त्यसका लागि सबैभन्दा बढी क्षति भई सडक सम्पर्क नभएको बस्ती, घरपरिवारको तथ्याङ्क सङ्कलनसमेत भएको हुमागाईँले बताउनुभयो । गएको हप्ताको बाढीपहिरोका कारण काभ्रेमा अहिलेसम्म हुनेको सङ्ख्या ७८ पुगेको छ ।