Aamsanchar

राप्रपामा आन्तरिक कलह, धवल शमशेरलाई सङ्गठन विभाग प्रमुखबाट हटाइयो  

Author Image
मङ्गलवार, असोज २२, २०८१

राजावादीहरुको पार्टी राप्रपामा कलह चरम उत्सर्गमा पुगेको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले महामन्त्री धवलशमशेर राणालाई संगठन विभागको प्रमुखबाट हटाइदिएपछि पार्टीका विवाद बल्झिएको हो। पार्टीमा समानान्तर गतिविधि चलाएको लिङ्देनले बिहिबार महामन्त्री धवल शमशेर राणालाई संगठन विभाग प्रमुखबाट हटाएका थिए। र, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई यो जिम्मेवारी दिएका थिए।

अध्यक्ष लिङ्देनको यो निर्णयमा पार्टीको निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले असहमति जनाएपछि विवाद सतहमा आएको छ।

महामन्त्री राणा विरामी भएर उपचारका लागि नयाँ दिल्लीमा रहेका बेलामा उनको जिम्मेवारी खोसिएको हो। राप्रपामा लिङ्देन, डा लोहनीर पशुपति शमशेर राणाका गुट छन् ।

लिङ्देनका विश्वासपात्र तामाङ हुन्। उनी विदेश जाँदा पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी उनैलाई दिँदै आएका छन्।

खासमा यसरी राप्रपामा समानान्तर गतिविधि हुनुको कारण हो आगामी वर्ष हुने पार्टीको महाधिवेशन। महाधिवेशनका लागि राप्रपामा गुटगत गतिविधि भइरहेका हुन्। राणा समूहले नेतृत्व हत्याउने डरले लिङ्देन समूहले पार्टीभित्रका अर्को गुटका नेताहरूबाट जिम्मेवारी खोस्दै आफू निकट नेताहरूलाई दिँदै आएका छन्।
लिङ्देनले आफ्नै संयोजकत्वमा जनआन्दोलन समिति गठन गरेका छन्।
लिङ्देन पछिल्लो पटक साझा पार्टीबाट आएका रवीन्द्र मिश्रलाई काखी च्याप्दै आएका छन्। राजनीतिक विभाग प्रमुखको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष मिश्रलाई र उपाध्यक्ष ध्रुवबहादुर प्रधानलाई स्थानीय तह परिचालन विभागको प्रमुख बनाएका छन्। यसरी जिम्मेवारी दिँदा उनले लोहनी र राणा निकट नेताहरूलाई पाखा लगाएका छन्।

राप्रपाभित्रको अन्तरकलह बल्झिएपछि नेता पशुपतिशमशेर राणाले भारत भ्रमण स्थगित गरेका छन्। विकसित राजनीतिक परिस्थितिपछि भने उनको भारत भ्रमण रोकिएको हो।

पूर्वअध्यष राणाले त सोमबार मात्र मिडियासँग कुरा गर्दै जिम्मेवारी हेरफेर गर्दा एउटा पक्षलाई अन्यया भएको बताए।

पार्टीमा जिम्मेवारी हेरफेरको विषयलाई लिएर आरोप प्रत्यारोप भएपछि अध्यक्ष लिङ्देन र महामन्त्री राणा दुबैपक्ष पशुपति शमशेरको निवासमै पुगेका थिए।

राजेन्द्र लिङ्देनले पार्टीमा मनोमानी गरेको धवल पक्षको आरोप छ भने लिङ्देन पक्षले अध्यक्षलाई कमजोर बनाएर पार्टीलाई कमजोर बनाउने गतिविधिमा लागेको आरोप लगाइरहेका छन्।

लिङ्देन कुनै बेला राजवादीमा कमल थापा निकटका नेता हुन्। तर, ०७८ मा भएको चुनावमा उनले थापालाई पराजित गरेर पार्टीको नेतृत्व लिएका थिए। उनी यसअघि थापा अध्यक्ष रहँदा लगातार दुई कार्यकाल केन्द्रीय समितिका महामन्त्री थिए।

राजावादीहरूको फुट र जुट चलिरहन्छ। पछिल्लो पटक राजावादीहरु ०७४ मा एकजुट भएका थिए। कमल थापा र पशुपतिशम्शेर राणालाई अध्यक्ष बनाएर पार्टी एकता गरिएको थियो। तर, महाधिवेशनमा थापा हारेपछि उनी छुट्टै दल खोलेर बसेका छन्। राप्रपा नेपाल गठन गरेका थापाले ०७९ को चुनावमा एमालेको चुनाव चिह्नबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका थिए। तर, उनी चुनाव हारेपछि राष्ट्रिय राजनीतिबाट अलगजस्तै छन्।  वर्णनबाट साभार । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 30

प्रतिक्रिया (०)

सम्बन्धित खबर