Aamsanchar

आफैले उत्पादन गरेको तरकारी बेच्न व्यस्त विद्यार्थी

Author Image
सोमवार, असोज २८, २०८१

वालिङ- स्याङ्जाको वालिङ नगरपालिका–१४ हिमशिखर निमाविका विद्यार्थी दसैँ बिदामा तरकारी बिक्री गर्न व्यस्त छन् । विद्यालयको करेसाबारीमा उत्पादन गरेका तरकारी विद्यार्थीले बेच्दै आएका छन् ।

‘एक विद्यालय एक करेसाबारी’ कार्यक्रम अन्तर्गत विद्यालयमा विभिन्न प्रकृतिका तरकारी लगाइएको छ । विद्यार्थीहरु आफैले लगाएको तरकारी आफैले बेच्दै आएको विद्यालयका प्रधानाध्यापक मित्रलाल खनालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थीहरु आफ्नो पालोमा बारीमा काम गर्ने गर्दछन्, विद्यार्थीसँगै शिक्षकहरु पनि करेशाबारीमा काम गर्छौं ।”

बारीमा उत्पादन भएको तरकारी दिवा खाजामा प्रयोग गर्नेगरेको उहाँको भनाइ छ । दसैँ विदा भएकाले तरकारी बाहिर बेचिएको प्रधानाध्यापक खनालले बताउनुभयो । तरकारी बेचेर भएको आम्दानी पनि विद्यार्थीको खाजाको लागि नै प्रयोग गरिने उहाँले जानकरी दिनुभयो ।

विद्यालयले झण्डै तीन रोपनी जग्गा लिजमा लिएर तरकारी खेती गर्दैआएको खनालले जानकारी दिनुभयो । तरकारी आफै उत्पादन गर्दा दिवा खाजामा हुने खर्च बचत भएको र विद्यार्थीले ताजा र राम्रो खाजा खान पाएको उहाँको भनाइ छ । राज्यबाट प्रतिविद्यार्थी १५ रुपियाँ खाजाबापत दिने गरेको खनालले बताउनुभयो ।

कक्षा ७ सम्म पढाइ हुने हिमशिखर माविमा ७५ जना विद्यार्थी अध्ययनरत रहेका छन् । वालिङ नगरपालिकाका विभिन्न विद्यालयमा ‘एक विद्यालय एक करेसाबारी’ कार्यक्रम सुरु गरिएको नगर प्रमुख कृष्ण खाणले बताउनुभयो । पालिकाले नगरका-६ विद्यालयमा पहिलो चरणमा यस्तो कार्यक्रम सुरु गरेको उहाँको भनाइ छ ।

पालिकाले दिवा खाजालाई प्रभावकारी बनाउन करेसाबारीको अभियान सुरु गरिएको उपप्रमुख कविता तिवारीले बताउनुभयो । उहाँले भन्नुभयो, “राज्यबाट दिवा खाजाको लागि प्राप्त हुने रकम थोरै छ, तरकारी विद्यालयमा नै उत्पादन भयो भने दिवा खाजा प्रभावकारी हुन्छ ।”

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 74

प्रतिक्रिया (०)

सम्बन्धित खबर