Aamsanchar

भारतीय सडक मानव देखिन थालेपछि व्यवस्थापनमा समस्या

Author Image
बुधवार, असोज ३०, २०८१

उर्लाबारी-प्रदेश सरकारले कोशी प्रदेशलाई सडक मानव मुक्त क्षेत्र बनाउने अभियान सुरु गरेपछि सडक मानव देखिन छाडेको पूर्वपश्चिम राजमार्गमा पुनः सडकमा सहयोगापेक्षी देखिएका छन् । खास गरी पूर्वी मोरङको सुनझोडा पुलदेखि बेलबारी नगरपालिकाको पुरानो बेलबारी बजारसम्म केही सातायता सडक मानव देखिन थालेका हुन् । राजमार्गको यो क्षेत्रमा जङ्गल पर्छ । देखिएका सडक मानव सबै भारतीय नागरिक हुन् ।

सडक मानव मुक्त प्रदेश बनाउने अभियान अन्तर्गत तीन वर्षअघि मोरङका उर्लाबारी, पथरीशनिश्चरे, बेलबारी नगरपालिका र कानेपोखरी गाउँपालिकाले सडकमै दिनरात बिताउने सहयोगापेक्षीहरूको उद्धार गरेर विराटनगरस्थित मानव सेवा आश्रममा पुर्याएको थियो । केहीलाई इटहरीस्थित मायाघर पठाइएको थियो भने घरेलु हिंसामा परेका महिलालाई माइती नेपाल र ओरेक नेपालसँग समन्वय गरी अधिकार दिलाउन पहल गरेको थियो । तीन वर्षअघि आफ्नै गाउँघर, सहरबजारमा आफन्त नभएर सडकमै दिनचर्या बिताउनेको उद्धार गरी मानव सेवा आश्रममा बुझाइएको थियो । ती सडक मानव व्यवस्थापनबापत पालिकाहरूले मायाघर, मानव सेवा आश्रमलाई नगद तथा खाद्यान्न सहयोग गर्दै आएका छन् ।

पथरीशनिश्चरे नगरपालिकाले हालसम्म १४ जना सडक मानवलाई उद्धार गरी मानव सेवा आश्रम विराटनगर र मायाघर इटहरीमा पठाइसकेको जनाएको छ । त्यस्तै बेलबारी, कानेपोखरी र उर्लाबारीले पनि सडकमा बस्दै आएका मानिसलाई त्यहाँबाट उद्धार गरेर आश्रममा पठाउने गरेका छन् । अभियान सुरु भएयता नेपालीहरू सडकमा देखिन छोडेका थिए । असहाय र परिवारबाट पीडितलाई समेत नगर तथा गाउँपालिकाले उद्धार गरी मानव सेवा आश्रममा पठाउने गरेको छ । भारतबाट आएका मानिसलाई भने व्यवस्थापन गर्न कठिन हुने गरेको छ ।

इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक मोहनविव्रmम दाहालले भन्नुभयो, “सडक मानव मुक्त बनाउन प्रहरीले मात्र सक्दैन, तर पनि हामीले प्रयास गरिरहेका छौँ ।” उहाँले नेपालीभन्दा भारतीय सडक मानव चाडबाडको समयमा बढी देखिने गरेको बताउनुभयो । यसरी भारतबाट आउने सडक मानव नियन्त्रण गर्न भन्सार र सीमानाकामा कडाइ गर्नुपर्ने उहाँको भनाइ छ ।

खास गरी नेपालमा कोइला लिएर आउने भारतीय ट्रकले भारतीय मूलका सहयोगापेक्षी बोकेर आउने गरेको प्रत्यक्षदर्शी बताउँछन् । मानव बस्ती भएको स्थानमा स्थानीयवासीले थाहा पाउने डरले पूर्वपश्चिम राजमार्गको जङ्गल क्षेत्रमा उनीहरूलाई छाड्ने गरेको प्रत्यक्षदर्शी तोयनाथ पौडेलले बताउनुभयो । कानेपोखरीका व्यवसायी खगेश्वर खतिवडाले भन्नुभयो, “नेपालका इँटा उद्योगका लागि आवश्यक कोइला ल्याउने भारतीय गाडीलाई कडा जाँच गर्नु पर्छ ।”

भारतबाट रातारात नेपाल छिरेका त्यस्ता सहयोगापेक्षी कसैसँग बोल्दैनन् । सडकको बिचमा उभिने र गाडी रोक्ने, ट्राफिक प्रहरी जस्तै बनेर सडकमा हात हल्लाउने जस्ता विचित्रका काम गरेर उनीहरू सर्वसाधारण र सवारीचालकको ध्यान खिच्ने गर्छन् । यसले गर्दा सडकमा दुर्घटना हुने गरेको स्थानीयको भनाइ छ । त्यस्ता कतिपय त नाङ्गै बजार घुमिरहेका हुन्छन् । कतिपय विशाल भारी बोकेर सडकमा हिँडिरहन्छन् त कतिपय ताली बजाउँदै घुमिरहन्छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 5

प्रतिक्रिया (०)

सम्बन्धित खबर