Aamsanchar

हर्क साम्पाङले वडाध्यक्षलाई कार्यवाहक दिएपछि राजनीतिक दल रुष्ट

Author Image
बिहिवार, कार्तिक १, २०८१

विराटनगर – सुनसरीको धरान उपमहानगरपालिकामा कार्यवाहक मेयरको जिम्मेवारीको विषयमा विवाद उत्पन्न भएको छ ।

बेलायत भ्रमणमा निस्किएका उपमहानगर प्रमुख हर्क साम्पाङले वडाध्यक्षलाई कार्यवाहक दिएपछि राजनीतिक दल रुष्ट बनेका छन् । उपप्रमुख हुँदाहुँदै विधि विधान मिच्ने नियतसाथ वडाध्यक्षलाई कार्यवाहक दिएको भन्दै धरानका ६ राजनीतिक दलले असन्तुष्टि जनाएका छन् ।

साम्पाङ करिब तीन साताका लागि बेलायत भ्रमणमा बिहीबार नै त्यसतर्फ गएका छन् । दसैँको समय पारेर उनले वडा नम्बर ११ का वडाध्यक्ष लोकेन्द्र फागोलाई पत्र दिएर कार्यवाहकको जिम्मेवारी दिएका छन् ।

दैनिक अधिकतम ५ हजार रूपैयाँमात्र आर्थिक सहयोग खर्च गर्न पाउने, कार्यपालिका बैठक नबोलाउने र नबसाउने, खानेपानी महसुल वृद्धि विरोधमा दलहरूको आन्दोलनको क्रममा तोडफोड भएको गेट र नगरपालिकाको बोर्ड तत्काललाई मर्मत नगर्ने, रेडबुकका कुनै योजना स्वीकृत नगर्ने, करार तथा ज्यालादारीमा कर्मचारी नथप्ने, सरुवा–बढुवा नगर्ने सर्तसहित वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी तोकेका छन् ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र रास्वपाका नगर अध्यक्षहरूले संयुक्त वक्तत्व जारी गर्दै साम्पाङको निर्णय लोकतान्त्रिक मूल्यमान्यता विपरीत भएको जनाएका छन् ।

नेपाली कांग्रेसले ६ दलसँगै वक्तब्य ननिकाले पनि कांग्रेस नेता तथा धरानका पूर्वमेयर तिलक राईले स्थानीय सरकार संचालन ऐन विपरीत कार्यवाहक दिइएको टिप्पणी गरेका छन् ।

उनले साम्पाङको शैली लोकतान्त्रिक नभएको बताए । स्वतन्त्र उमेदवारी दिएर उपमहानगर प्रमुखमा विजयी भएका साम्पाङ धरानमा निकै परको मूलबाट खानेपानी ल्याएका कारण चर्चित छन् । उनी सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी गरिरहने कारण विवादित छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 41

प्रतिक्रिया (०)

सम्बन्धित खबर