Aamsanchar

बाढीपहिरोका कारण १७० वटा विद्यालयमा क्षति

Author Image
शनिवार, कार्तिक ३, २०८१

बनेपा-अविरल वर्षासँगै असोज ११ र १२ गते आएको बाढीपहिरोका कारण काभ्रेपलाञ्चोक जिल्लामा रहेका १७० वटा विद्यालयमा क्षति पुगेको छ । शिक्षा विकास तथा समन्वय इकाई काभ्रेपलाञ्चोकले असोज दोस्रो सातामा आएको बाढीपहिरोका कारण जिल्लामा १३ वटा स्थानीय तहमध्ये १२ वटा स्थानीय तहमा रहेका १७० वटा विद्यालयमा क्षति पुगेको जनाएको हो ।

इकाई प्रमुख देवका ढकालले स्थानीय तहले उपलब्ध गराएको तथ्याङ्क अनुसार हालसम्म जिल्लामा बाढीपहिरोका कारण १७० वटा विद्यालयमा क्षति पुगेको बताउनुभयो । उहाँले जिल्लाका १७० वटा विद्यालयमा क्षति भएको तथ्याङ्क उपलब्ध भए पनि अझै पनि कतिपय विद्यालयको छुटेको हुन सक्ने भएकाले आ–आफ्नो स्थानीय तहमा रहेका विद्यालयको तथ्याङ्क अद्यावधिक गर्न स्थानीय तहहरुलाई आग्रह गरिएको बताउनुभयो ।

“कार्यालयमा प्राप्त भएको तथ्याङ्क अनुसार धेरै जसो विद्यालय पूर्ण रुपमा क्षति, केही विद्यालयमा छाना खस्ने, विद्यालयको घेरा पर्खाल, घेरावार, विद्यालय नजिक पहिरो आएको, केही विद्यालयको कक्षाकोठामा बाढी पसेकोलगायतको विवरण प्राप्त भएको छ” इकाई प्रमुख ढकालले भन्नुभयो ।

उहाँले अहिले विद्यालयहरुमा दसैँतिहारको विदा भएकाले तिहारपछि विद्यालयमा पठनपाठन सुरु हुने समयसम्म क्षति भएका विद्यालयहरुमा नियमित पठनपाठन गराउने वातावरण बनाउनका लागि स्थानीय तहहरुसँग समन्वय गर्ने काम भइरहेको बताउनुभयो ।

“अहिले हामी कार्यालयमा आएको क्षति भएका विद्यालयहरुको तथ्याङ्क विश्लेषण गर्ने काम गरिरहेका छौँ, स्थानीय तहहरुले बाढीपहिरोबाट क्षति भएका विद्यालयहरुको तथ्याङ्क एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली ९आइईएमआइएस० मा अपलोड गरेपनि कुन विद्यालयमा कति टिएलसी ९अस्थायी सिकाई केन्द्र० निर्माण गर्नुपर्ने, अन्य के के पूर्वाधार निर्माण गर्नुपर्ने भन्ने विषयमा जानकारी हुनेछ” इकाई प्रमुख ढकालले थप्नुभयो ।

उहाँले बाढीपहिरोका कारण जिल्लाको पनौती नगरपालिकामा १५ वटा विद्यालय, बनेपा नगरपालिकामा तीन वटा विद्यालय, पाँचखाल नगरपालिकामा १२ वटा विद्यालय, मण्डनदेउपुर नगरपालिकामा नौ वटा विद्यालय, धुलिखेल नगरपालिकामा रहेका २८ वटा विद्यालय र नमोबुद्ध नगरपालिकामा रहेका १४ वटा विद्यालयमा क्षति पुगेको छ ।

त्यसैगरी जिल्लाको भुम्लु गाउँपालिकामा रहेका दश वटा वटा विद्यालय, चौरीदेउराली गाउँपालिकामा रहेका २८ वटा विद्यालय, तेमाल गाउँपालिकामा रहेका सात वटा विद्यालय, रोसी गाउँपालिकामा रहेका १३ वटा विद्यालय, खानीखोला गाउँपालिकामा रहेका चार वटा विद्यालय र बेथानचोक गाउँपालिकामा रहेका २६ वटा विद्यालयमा क्षति भएको शिक्षा विकास तथा समन्वय इकाई काभ्रेपलाञ्चोकले जनाएको छ । बाढीपहिरोले विद्यालयको भवन, शौचालय, खानेपानी, खेलकुद मैदान, घेराबार, कक्षाकोठामा क्षति गरेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 57

प्रतिक्रिया (०)

सम्बन्धित खबर