Aamsanchar

प्रदर्शनकारीलाई छलेर अर्कै बाटोबाट प्रहरीले रविलाई अदालत पुर्यायाे

Author Image
आइतवार, कार्तिक ४, २०८१

काठमाडौं – सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरी कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले जिल्ला अदालत कास्कीमा पेस गरेको छ।

म्याद थपपछि प्रहरीले उनीविरुद्ध सहकारी रकम ठगी र संगठित अपराधबारे अनुसन्धान सुरु गर्नेछ। जिल्ला अदालत कास्कीले शुक्रबार रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरपालिकाको शहिदचोक र ग्रैहापाटन आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरे पनि रास्वपा कार्यकर्ताले निरन्तर प्रदर्शन गरेका थिए। यद्यपि, प्रहरीले प्रदर्शनकारीलाई छलेर अर्कै बाटोबाट उच्च सुरक्षासहित आफ्नै गाडीमा अदालत छिराएको हो।

नारावाजी र प्रदर्शनका क्रममा बेलाबेलामा प्रहरीसँग धकेलाधकेलसमेत भइरहेको थियो। प्रदर्शनको नेतृत्व रास्वपाका शीर्ष नेताहरू उपसभापति डिपी अर्याल, स्वर्णीम वाग्ले, पूर्वमन्त्री सुमना श्रेष्ठ, सांसद हरि ढकाल आदिले गरेका छन्।

प्रमुख जिल्ला अधिकारी भरतमणि पौडेलद्वारा आज जारी निषेधाज्ञासम्बन्धी सूचनामा सहिदचोकको पूर्वपट्टि वाइचोक, पश्चिमतर्फ फिस्टेल गेट, उत्तरतर्फ मालपोत कार्यालय, दक्षिणतर्फ मुस्ताङचोकस र ग्रैहापाटनको पालिखेचोकबाट नविन माध्यमिक विद्यालयसम्मको सडक क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन, सभालगायत विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा सभापति लामिछानेलाई काठमाडौँबाट पक्राउ गरी शनिबार बिहान पोखरा ल्याइएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 47

प्रतिक्रिया (०)

सम्बन्धित खबर