Aamsanchar

मनै लोभ्याउने सयपत्री फूल

Author Image
सोमवार, कार्तिक ५, २०८१

रामेछाप – फल लाग्ने अवस्थाको ड्रागन फ्रुटको बोट र त्यससँगै रोपिएको सयपत्रीको फूलले बारी पहेँलपुर छ। मन्थली नगरपालिका–५ सुनारपानीका रामबहादुर शाहीले बनमाराले भरिएको जग्गामा खनजोत गरी सुरु गरेको ड्रागन फ्रुट र सयपत्री फूलको खेती हेर्न त्यहाँ पुग्ने जो कोही पनि लोभिन्छन्।

पाँच रोपनीमध्ये तीन रोपनीमा उहाँले ड्रागन फ्रुट मात्रै लगाउनुभएको छ भने बाँकी दुई रोपनीमा ड्रागन फ्रुटसँगै सयपत्रीको पनि खेती गरिरहेका छन्। तिहार सुरु हुने समयमा झपक्कै फूलेका सयपत्रीले त्यहाँको दृश्य मनमोहक बनाइदिएको छ।

लामो समयदेखि बनमारा मात्रै उम्रिएको जग्गामा दुई वर्षअघि शाहीले ड्रागन फ्रुट लगाउने निर्णय गरेका थिए। सुरुमा तीन सय बोट ड्रागन फ्रुट रोपेका उनले त्यससँगै सयपत्री फूल पनि रोपेका थिए। एउटै जग्गाबाट अहिले उनले दोहोरो लाभ लिएका छन्।

उनले सयपत्रीबाहेक विभिन्न प्रजातिका विरुवाहरु उत्पादन गर्न नर्सरीको समेत व्यवस्था गरेको सुनाए।

उनले भने, “लामो समयदेखि काठमाडौँमा फूलको नर्सरी सञ्चालन गरेको थिए, त्यही अनुभवका आधारमा यहाँ पनि फूल र विभिन्न विरुवाको नर्सरी सुरु गरेको हुँ।” आफ्नै गाउँमा केही गरौँ र स्थानीय किसानलाई सहयोग गर्नुपर्छ भन्ने सोचले आफूले यहाँ खेती सुरु गरेको उनको भनाइ छ।

शाहीलाई नगरपालिकाबाट पनि सहयोग प्राप्त भइसकेको छ। फूल खेतीका लागि नगरपालिकाले रु एक लाख अनुदान उपलब्ध गराएको नगर कार्यपालिकाका सदस्य एवं वडा नं ५ का अध्यक्ष रबिन कार्कीले जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 4

प्रतिक्रिया (०)

सम्बन्धित खबर